बुटवल, १५ वैशाख । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सञ्चालन गरेको ‘क्याथ ल्याब’बाट सुनवल नवलपरासी निवासी ५८ वर्षीय रामबहादुर नगरकोटीको पहिलो पटक एन्जियोप्लाष्टी सेवा प्राप्त गरेका छन् ।
अस्पतालका निर्देशक वरिष्ठ मुटु रोग विशेषज्ञ डा समिर गौतम र डा मुरारी बाराकोटीलगायतको टोलीले नगरकोटीको एन्जियोप्लाष्टी सफलतापूर्वक गरेको अस्पतालले जनाएको छ ।
निज नगरकोटीको मुटुको एउटा नली ९० प्रतिशत रोकिएकामा एन्जियोप्लाष्टीबाट खोल्ने काम भएको अस्पतालका निर्देशक डा गौतमले जानकारी दिए ।
विगत तीनवर्ष अघिदेखि सञ्चालित यो अस्पतालमा यसै हप्तादेखि क्याथल्याब सेवा समेत सञ्चालन भएको हो । मुटुको सामान्य उपचार समेत गराउन राजधानी धाउनुपर्ने अवस्थामा जर्मनीमा निर्मित विश्व प्रख्यात सिमेन्स कम्पनीले उपलब्ध गराएको उपकरणबाट मुटुको एन्जियोग्राफी, एन्जियोप्लाष्टी र पेसमेकर राख्ने काम समेत यसै अस्पतालबाट सुरु गरिएपछि यस क्षेत्रका मुटुका बिरामीले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।
उनका अनुसार काठमाडाैँको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले लिँदै आएको शुल्कमै यस अस्पतालको क्याथ ल्याबबाट सेवा उपलब्ध हुनेछ । रोटरी क्लब अफ बुटवलले रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्ट अन्तर्गत रु ६ लाख १५ हजार युएस डलरको यो आयोजना स्वीकृत भएको थियो । रोटरी क्लब अफ बुटवलले रु एक करोड, रोटरी क्लब अफ सेन्ट्रल बुटवलले रु तीन करोड र रोटरी फाउन्डेसनबाट रु दुई करोड ५० लाख गरी क्याथल्याबका लागि साढे रु ६ करोड लगानी भएको हो ।
रुपन्देही उद्योग सङ्घको संरक्षकत्वमा २०६९ सालमा स्थापना भएको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालित यो अस्पताल हालसम्म आइपुग्दा चारवटा रोटरी र एउटा रोट्र्याक्ट क्लबसँगको सहकार्यमा सञ्चालन हुँदै आएको छ । रासस
प्रकाशित मिति: १५ बैशाख २०७४, शुक्रबार १५:०९