नेपालगन्ज, १५ वैशाख । बाँकेमा विभिन्न राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता जनाएपछि जिल्ला बाल कल्याण समिति तथा बालबालिकाका क्षेत्रमा कार्यरत सामाजिक संस्थाले त्यसको खुलेर प्रशंसा गरेका छन् ।
बाँके जिल्लाका राजनीतिक दल जस्तै अन्य जिल्लाका दलहरुले पनि यसको सिको गर्नुपर्ने र निर्वाचन एव्म दलका सबै खाले गतिविधिमा बालबालिकाको प्रयोगमा पूर्ण रुपमा रोक लगाउनुपर्नेमा पनि ती संस्थाले आग्रह गरेका छन् ।
जिल्ला बाल कल्याण समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले “यहाँका दलहरुले अहिलेसम्म निर्वाचन प्रयोजन र दलका अन्य गतिविधिमा बालबालिकाको प्रयोग गरेको पाइएको छैन भने । ”
जिल्ला बाल कल्याण समितिले नेपालगन्जमा आयोजना गरेको ‘स्थानीय निकाय निर्वाचन र बाल अधिकार संरक्षण तथा प्रवद्र्धन’ विषयक छलफलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राजमो, जनता दललगायत १३ दलका पदाधिकारी र प्रतिनिधिले राजनीतिक गतिविधि र स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाए ।
प्रजिअ पन्थका अनुसार, निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहितामा निर्वाचनमा बालबालिकाको प्रयोग गर्न नपाइने एउटा बुँदाको आधारमा यहाँ अनुगमन समिति समेत गठन गरिएको छ । अनुगमन समितिमा केन्द्रिय बाल कल्याण समितिका एकजना प्रतिनिधिलाई पनि राखिएको छ ।
यसैबीच, नेपालगन्जस्थित क्षेत्रीय निर्वाचन कार्यालयले जारी गरेको तथ्याङ्क अनुसार, स्थानीय तह निर्वाचनका लागि बाँके जिल्लामा दुई लाख ४६ हजार ७८ मतदाताले मतदान गर्न पाउने भएका छन् ।
जिल्लाको एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकामा कुल एक लाख २५ हजार ९३९ पुरुष र एक लाख २० हजार १४१ महिला र एकजना तेस्रो लिङ्गी मतदाता छन् ।
यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार, जिल्लाका कूल मतदातामध्ये पुरुष ५१ दशमलव १७ प्रतिशत र महिला ४८ दशमलव ४२ प्रतिशत छन् । दोस्रो संविधानसभा सदस्य निर्वाचनमा भन्दा ४४ हजार मतदाता यो निर्वाचनमा बढी छन् ।
यसका साथै निर्वाचनको मिति नजिकिएसँगै यहाँका राजनीतिक दलहरुका नेता जनतासँगको साक्षात्कार कार्यक्रममा बढी व्यस्त देखिन थालेका छन् ।
दलका नेताहरुले गाउँगाउँमा सभा गर्ने, घरदैलो अभियान, नागरिक अन्तक्र्रिया, पार्टी प्रवेश, कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई तीव्रता दिएका छन् । रासस
प्रकाशित मिति: १५ बैशाख २०७४, शुक्रबार १५:०६