इलाम, १४ वैशाख । चियाको प्रशोधन सुरु भएको छ । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा चिया पुर्याउन टिपेर प्रशोधन थालिएको हो ।
यस वर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ । अघिल्लो वर्ष चैत अन्तिमबाट मात्रै पत्ती टिपाइ सुरु भए पनि यस वर्ष चैतको दोस्रो साताबाटै चिया टिपाइ सुरु भएपछि प्रशोधनको काम चाँडै सुरु भएको हो ।
उत्पादनको पहिलो याम चिया गुणस्तरका हिसाबले राम्रो मानिन्छ । उत्पादन कम भए पनि फस्टफ्लस चियाको मूल्य उच्च हुन्छ । कारखानाले थोरै हरियो पत्ती भए पनि प्रशोधन गर्ने गरेका छन् । “जसले गुणस्तरीय चिया पहिला पुर्याउँछ उसको चियाले बजार पाउँछ,” पाथीभरा चिया सहकारी संस्थाका मोती दाहालले भने ।
जिल्लाका केही कारखानाले मूल्य निर्धारण गरेका छन् भने केहीले अझै पनि मूल्य निर्धारण गर्न सकेका छैनन् । फाकफोकस्थित तीनजुरे चिया सहकारी संस्थाले आफ्नो कारखानामा पत्ती प्रशोधन गर्ने किसानलाई प्रतिकिलो हरियोपत्तीको मूल्य रु ७० दिने गरेको कारखानाका व्यवस्थापक सोम शर्माले बताए ।
नेपाली चियाको सबैभन्दा ठूलो बजार पश्चिम बङ्गालको कोलकाता हो । भारतको चिया कोलकाता अक्सन मार्केटमा छिट्टै पुग्ने हुँदा नेपाली चियाले बजाउन पाउन समस्या हुने गरेको चिया व्यवसायीको गुनासो छ । “यहाँ कृषकबाट पत्ति खरिद गर्नुपर्छ तर सीमापारि बगान र कारखाना एकै जनाको स्वामित्वमा हुने गरेको गरेकाले उत्पादन बिक्री गर्न सहज हुन्छ,” केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले भने ।
भारतले चियामा सिएफएल (सेन्टर फुड लेब्रेटोरी) प्रणाली लागू गरेपछि नेपाली चिया व्यवासायी झन मारमा परेका छन् । नेपाली चिया एकपटक सिएफएल प्रमाणित गर्न ६८ हजार भारतीय रूपैयाँ तिर्नु पर्छ । मासिक नवीकरणको १८ हजार भारतीय रूपैयाँ छुट्टै लाग्छ । सिएफएल प्रमाणित गर्नुपर्ने झमेलाका कारण नेपाली चिया व्यवसायी समस्यामा परेका हुन् ।
नेपाल सरकार खाद्य विभागले गरेको प्रमाणित चियालाई भारतले मान्यता नदिँदा नेपाली चिया भारत बिक्री गर्न समस्या छ । नेपालबाट तेस्रो मुलुकमा चिया निकासी गर्न भने समस्या छैन । नेपाली चियाको ७० प्रतिशत बजार भारत हो ।
अर्थोडक्स चिया उत्पादनका लागि अगाडि रहेको इलाममा वार्षिक ४० लाख किलो तयारी चिया उत्पादन गर्ने गरेका चिया तथा कफी विकास बोर्डले जनाएको छ । जिल्लामा २४ वटा ठूला तथा ४२ वटा साना चिया कारखाना सञ्चालित छन् । यहाँका करिब १० हजारभन्दा बढी किसानले कारखानालाई चियापत्ती बिक्री गर्दै आएका छन् । रासस
प्रकाशित मिति: १४ बैशाख २०७४, बिहीबार १५:२६