रामपुर (पाल्पा), १४ वैशाख । बजारमा अदुवाको उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् ।
नगदे बालीको रुपमा रहेको अदुवा उत्पादन गरेर वर्षौंदेखि जीविका चलाउँदै आएका कृषक यस वर्ष अदुवाले बजार नपाउँदा समस्यामा परेका छन् । बाकामलाङ–४ का कृषक टुकबहादुर सोती अदुवा बिक्री गरेर परिवारको जीविका चलाउँदै आएका छन् । तर यस वर्ष उनले अदुवा बिक्री गर्न पाएका छैनन् । प्रतिधार्नी अदुवा रु २०० मा बिक्री गरेका सोतीले अहिले प्रतिधार्नी रु ३५ मा बिक्री गरिरहेका छन्।
“गत वर्ष रु एक लाख आम्दानी गरेको थिएँ, यस वर्ष लगानी पनि नउठ्ने भयो,” सोतीले भने– “छोराछोरीको लालनपालन, पढाइ खर्च र घरायसी खर्च कसरी चलाउने हो भन्ने समस्या छ ।”
बाकामलाङ्–४ लेखमलाङका अधिकांश कृषकको पुख्र्यौली पेसाका रुपमा रहेको अदुवाखेतीलाई उनीहरुले हालसम्म व्यावसायिक रुपमा आम्दानीको स्रोत बनाउँदै आएका छन् । यहाँका ७५ घरपरिवारले बारीभरि अदुवा लगाएर बर्सेनि मनग्य आम्दानी गर्दै आएका छन् ।
“पहिला कृषकलाई अदुवा लगाउन र बेच्ने चटारो हुन्थ्यो, व्यापारी अदुवा खरिद गर्न गाउँमै आउँथे, यस वर्ष अदुवा कुहिन थाल्यो,” कृषक मीनबहादुर सोतीले भने । विगत वर्षमा व्यापारीको माग पुर्याउन समस्या हुने गरेको थियो । यहाँ उत्पादन भएको अदुवाको मुख्य बजार भारत हो । भारतले गत वर्षदेखि अदुवा उत्पादन बढाएसँगै यहाँ उत्पादित अदुवाले बजार नपाएको किसान बताउँछन् ।
जिल्लामा आव २०७२-७३ मा एक हजार २६२ हेक्टर क्षेत्रफलमा रु ३१ करोड ३० लाखको १४ हजार १९७ मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कफिल अहमदले जानकारी दिए । जिल्लाको मुख्य नगदे बालीका रुपमा रहेको अदुवाखेती विस्तार गरी सरकारले एक गाउँ एक उत्पादन कार्यक्रम अगाडी सारेको छ ।
भैरवस्थान, पालुङमैनादी, फेक, ठिमुरे, खानीगाउँ, बराङ्गदी, खालीवन, सिलुवा, बाकामलाङ, झिरुवास, सहलकोट, मित्याल, गल्धालगायत क्षेत्रलाई अदुवाको पकेट क्षेत्रका रुपमा विकास गरिएको कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति: १४ बैशाख २०७४, बिहीबार १५:२५