विराटनगर १४ वैशाख । स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने निर्णय भएपछि मोरङका ठूला राजनीतिक दल सुस्ताएका छन् । उनीहरूले तीव्र बनाएका गतिविधिसमेत सुस्ताएका छन् ।निर्वाचन नजिकिएको भन्दै तातेका दलहरूले दोस्रो चरणको कुरा सार्वजनिक भएपछि भने निर्वाचनसम्बन्धी गतिविधिलगायत पार्टीका कार्यक्रमसमेतलाई प्राथमिकता दिन छाडेका छन् । प्रदेश नं १ अन्तर्गतको मोरङका दलहरूले उम्मेदवार छनोटलाई तत्कालका लागि स्थगित गरेका छन् । उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र बाँकी रहेका विभिन्न वडाहरूको उम्मेदवार छनोट पछि गरिने दलहरूले जनाएका छन् ।
दोस्रो चरणमा निर्वाचन हुने भएपछि उम्मेदवार छनोट र सिफारिसलाई प्राथमिकताबाट हटाइएको दलहरूले जनाएका छन् । आकांक्षी धेरै देखिएपछि दलहरू यसअघि उम्मेदवार छनोटमा जुटेका थिए । उम्मेदवार छनोटलाई थाँत राख्दै दलहरूले चुनावीलगायतका अन्य कार्यक्रमलाई भने निरन्तरता दिने जनाएका छन् । विशेष गरेर कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रसमेतका ठूला दलहरूले तत्कालका लागि उम्मेदवार छनोट र सिफारिसका कुनै पनि काम नगर्ने जनाएका छन् ।
वैशाख ३१ गते निर्वाचन हुने भन्दै यसअघि दलहरूलाई उम्मेदवार छनोटसँगै चुनावसम्बन्धी अन्य कार्यक्रम र गतिविधि गर्ने चटारो थियो । वैशाख ३१ गते गर्ने भनिएको निर्वाचन प्रदेश नं १ मा दोस्रो चरणमा जेठ ३१ गते निर्णय सरकारले गरेको छ । दलहरूले पहिलो चरणको निर्वाचनको परिणामपछि उम्मेदवार छनोटको काम फेरि सुरु गरिने जनाएका छन् ।
‘यसअघि उम्मेदवार छनोटमा निकै मेहनत गरिएको थियो । पहिलो चरणमा निर्वाचन नहुने भएपछि उम्मेदवार छनोटमा अहिले त्यति हतार गर्नुपर्ने देखिएन’, कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले भन्नुभयो, ‘तर केही समयपछि भने उम्मेदवार छनोट र सिफारिसको काम अघि बढाइनेछ । मतदातासँगको भेटघाट र घरदैलो कार्यक्रमलाई भने निरन्तरता दिइनेछ ।’ लिम्बूले सामूहिक रूपमा पार्टीका गतिविधि र चुनावी प्रचारप्रसारलाई भने जारी राखिने बताउनुभयो । ‘वडा र टोलमा निर्वाचनसम्बन्धी विभिन्न कमिटी गठन गरेर तिनीहरूलाई सक्रिय गराइनेछ’, उहाँले भन्नुभयो, ‘उम्मेदवार छनोट गर्न बाँकी रहेका स्थानीय तह र वडामा तत्कालका लागि यो काम स्थगित गर्ने र पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि काम सुरु गर्ने निर्णय पार्टीले गरेको छ ।’
उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र बाँकी रहेका विभिन्न वडाहरूको उम्मेदवार छनोट पछि गरिने दलहरूले जनाएका छन् ।
उम्मेदवार छनोट र सिफारिस भइसकेकामा कुनै फरक नपर्ने एमाले मोरङ अध्यक्ष विनोद ढकालले बताउनुभयो । ‘पछि पनि सिफारिस गरिएकै बीचबाट उम्मेदवार बनाउने हो’, उहाँले भन्नुभयो, ‘बाँकी रहेका वडा, गाउँपालिका र नगरपालिकाको उम्मेदवार छनोट र सिफारिसको काम पछि गरिने गरी तत्कालका लागि स्थगित गरिएको छ । निर्वाचन नै सरेपछि अहिले उम्मेदवार छनोटका लागि बढी समय खर्चनुपर्ने देखिएन ।’ निर्वाचन हुनेमा कुनै शंका नरहे पनि दोस्रो चरणमा हुने भएकाले सबै कार्यक्रम पछि धकेलिएको ढकालको भनाइ छ ।
माओवादी केन्द्रका जिल्ला संयोजक गोपी अछामीले तत्कालका लागि उम्मेदवार छनोट र सिफारिसका काम स्थगित गरिएको बताउनुभयो । अबको एक महिनासम्म सांगठनिक र निर्वाचन परिचालनसम्बन्धी काम गर्ने निर्णय पार्टीले गरेको जानकारी उहाँले दिनुभयो । ‘सांगठनिक र निर्वाचनका काम सकेर एक महिनापछि फेरि बाँकी रहेका स्थानका उम्मेदवार छनोटमा पार्टी अघि बढ्नेछ’, अछामीले भन्नुभयो, ‘निर्वाचन दोस्रो चरण नभई पहिलो चरणमै भइदिएको भए वैशाख १० गते नै सबै उम्मेदवारको टुंगो लगाइसकिने थियो ।’
मोरङमा एक उपहानगरपालिका, आठवटा नगरपालिका र आठ गाउँपालिका छन् । ठूला दलमध्ये उम्मेदवार छनोटमा माओवादी केन्द्र अगाडि छ । उसले विराटनगर उपमहानगरपालिकाको मेयरमा भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेलाई उठाउने निश्चित गरिसकेको छ । सुन्दरहरैंचा नगरपालिकाको मेयरमा कुमारी राई, उपमेयरमा नवराज चापागाईं, केराबारी गाउँपालिकाको अध्यक्षमा हस्त लिम्बू र उपाध्यक्षमा अम्बिका सुवेदी चौलागाईं, रतुवाईमाई नगरपालिकाको मेयरमा प्रकाश पौडेल र उपमेयरमा जुब्बा सोरेन तथा पथरीशनिश्चरे नगरपालिकाको मेयरमा जहरमान लिम्बू र उपमेयरमा राधिका गौतमलाई उठाउने निश्चित भइसकेको अछामीको भनाइ छ ।
त्यस्तै माओवादीले लेटाङभोगटेनी नगरपालिकाको मेयरमा गोपाल नेपाली, मिक्लाजुङको अध्यक्षमा प्रेम लिम्बू, रंगेलीको मेयरमा दिलीप अग्रवाल, जदाहाको अध्यक्षमा राजकुमार यादवलाई उठाउने भएको छ । उपमेयर र उपाध्यक्षका उम्मेदवारको टुंगो लागिनसकेको पार्टीले जनाएको छ । धेरैजसो स्थानीय निकायका प्रमुख तथा वडाका उम्मेदवारको टुंगो लागिसकेको अछामीले बताउनुभयो । ‘बाँकी रहेकामा पछि टुंगो लगाइनेछ’, उहाँले भन्नुभयो ।
एमाले मोरङका प्रचार विभाग प्रमुख सत्यनारायण चौधरीका अनुसार ग्रामथानाको अध्यक्षमा शिवनारायण माझी र उपाध्यक्षमा गुनावती धामी, केराबारीको अध्यक्षमा नवीन थापा मगर र उपाध्यक्षमा शान्तिकुमारी लिम्बू भुजेल, जहदाको अध्यक्षमा त्रिभुवन राजवंशी र उपाध्यक्षमा लक्ष्मीदेवी महतारा राजवंशी तथा धनपाल गाउँपालिकाको अध्यक्षमा मसहरु मण्डल र उपाध्यक्षमा उपासीदेवी राजवंशी निर्विरोध उम्मेदवार बनिसकेका छन् । एमालेले सबै स्थानीय तहका उम्मेदवार छनोट मंगलबारसम्ममा सक्ने जनाएको थियो ।
‘नगरपालिका तथा गाउँपालिकाका ८० प्रतिशत वडामा उम्मेदवारको टुंगो लगाइसकिएको छ’, चौधरीले भन्नुभयो, ‘दोस्रो चरणमा निर्वाचन हुने भएकाले बाँकी रहेका स्थानीय निकाय र ती निकायका वडामा पछि उम्मेदवारको टुंगो लगाइनेछ ।’ आकांक्षी धेरै भएका कारण उम्मेदवार छनोटमा केही ठाउँमा विवाद रहेको उहाँले जानकारी दिनुभयो । कांग्रेसले भने केराबारी गाउँपालिकाको मात्र टुंगो लगाएको छ । त्यहाँको अध्यक्षमा रोहित कार्की र उपाध्यक्षमा कल्पना कटुवाल राईलाई उम्मेदवार बनाइने पार्टीले जनाएको छ । पार्टी अध्यक्ष लिम्बूले अरू नगरपालिका, गाउँपालिका र वडाहरूमा उम्मेदवारको टुंगो लाग्न नसकेका कारण पहिलो चरणको निर्वाचन सकिएपछि छनोट थालिनेछ ।
प्रकाशित मिति: १४ बैशाख २०७४, बिहीबार ०६:४६