त्रिशूली १४ वैशाख । चीनको रसुवा नाकाबाट बुधबार २६ हजार मतपेटिका ल्याइएको छ। स्थानीय तहको निर्वाचनका लागि चीनबाट खरिद गरिएका सबै मतपेटिका केरुङबाट रसुवागढी नाका हुँदै ल्याइएको हो।
निर्वाचनका लागि चीनबाट खरिद गरिएका २६ हजार थान मतपेटिका बुधबार ल्याइएको हो। निर्वाचन आयोगले चीनबाटै छेकवार समेत ल्याउने तयारी गरेको छ।
चीनबाट खरिद गरिएका २६ हजार ६ सय थान मतपेटिका रसुवागढी हुँदै ल्याइएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक रन्जन दाहालले जानकारी दिनुभयो।
पहिलो चरणमा नौ, दोश्रो चरणमा पाँच, तेश्रो चरणमा तीन, चौथो चरणमा चार र पाँचौँ चरणमा दुई गरी २३ थान कन्टेनरमा सबै मतपेटिका चीनको केरुङ हुँदै रसुवागढी नाकाबाट नेपाल भित्रिएर नुवाकोट हुँदै काठमाडाैँ लगिएको छ।
तीन दिन भित्रमा सबै छेकवार काठमाडौं पुगिसक्ने मतपेटिका सप्लायर्स प्रतिनिधि सुरज कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार मटपेटिकासँगै त्यसलाई बाध्ने आठ लाख थान सिल पनि रसुवागढी नाकाबाट काठमाडौं पुर्याइएको छ।
वैशाख १५ गतेभित्र मतपेटिकाको छेकबार पनि आयोगलाई बुझाउने सप्लायर्स कम्पनीले जनाएको छ। चीनबाट खरिद गरिएका मटपेटिका रसुवागढीबाट नुवाकोट हुँदै काठमाडौ लगिएको हो।
पहिरोका कारण अवरुद्ध नाका सञ्चालनका लागि नेपाली र चिनियाँ अधिकारीबीच छलफल भएसँगै गत सातादेखि मतपेटिका बोक्न नाका सुचारु गरिएको थियो।
चीनको केरुङबाट मतपेटिका बोकेर काठमाडौं पुर्याउँदा सप्लायर्सबाट एक कन्टेनरले एक लाख ३० हजार रुपैयाँ भाडा लिन्छन्। भन्सार विभागले मतपेटिकामा भन्सार छुट दिने निर्णय अनुसार रसुवागढी भन्सार कार्यालयले एक प्रतिशत भन्सार शुल्क लिएर मतपेटिका जाँचपास गरेको छ।
टिमुरेमा रहेको रसुवागढी भन्सार कार्यालयले मतपेटिका, सिल आयात गरेवापत सात लाख रुपैयाँ भन्सार लिएको जनाइएको छ। चीनको केरुङबाट लोड गरिएका मतपेटिका बोकेका कन्टेनरले रसुवागढी नाका हुँदै नुवाकोटबाट काठमाडौं पुग्न दुईदेखि तीन दिन लाग्छ।
वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि चीनबाट खरिद गरिएको मतपेटिका लिनका लागि दुई साता अगाडि नै कन्टेनर चीनको केरुङ पुगेका थिए।
रसुवागढीमा नेपाल र चिनियाँ सुरक्षा अधिकारीबीचको छलफलपछि तीन सातादेखि बन्द रहेको रसुवागढी नाका अस्थायी रुपमा चीनले खोलिदिएसंगै मतपेटिकासंगै सामान बोकेका अन्य कन्टेनर पनि नेपाल भित्रिरहेका छन्।
प्रकाशित मिति: १४ बैशाख २०७४, बिहीबार ०६:४३