सल्यान, ११ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा सल्यानमा राजनैतिक दलहरुले उम्मेदवारहरुको छनौटमा तिब्रता दिएका छन् । आन्तरिक रुपमा केही दलहरुले उम्मेदवारहरुको टुंगो लगाईसकेका भएपनि बाहिर सार्वजनिक नगरी आ आफनो केन्द्रिय तहमा सिफारिस गरि पठाएका छन् ।
नेपाली कांग्रेस सल्यान क्षेत्र नम्बर २ ले आइतवार गाँउपालिका र नगरपालिकाका उम्मेदवारहरु छनौटको टुंगो लगाएको छ । धेरै प्रत्यासीहरु बीच गहन छलफल गरी गाउँपालिका र नगरपालिकाका सबै वडा तहका उम्मेदवारहरु सर्वसम्मत छनौट गरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीेलाई पठाइएको कांग्रेस क्षेत्र नम्बर २ का सभापति सन्तोष के.सी. ले जानकारी दिए ।
कांग्रेस सल्यान क्षेत्र नम्बर २ मा रहेका नगरपालिका र गाँउपालिकाहरु मध्य शारदा नगरपालिकाको मेयरमा सुरेश अधिकारी र उप मेयरमा साबित्रा बस्नेत, छत्रेश्वरी गाँउपालिकाको अध्यक्षमा सन्तोष के.सी., उपाध्यक्षमा सिता के.सी., कालिमाटी गाँउपालिका अध्यक्षमा भरत पुन, उपाध्यक्ष कमला अधिकारी, कपुरकोट गाँउपालिकामा अध्यक्ष दुर्गा गिरी, उपाध्यक्ष ओकी महतारा, त्रिबेणी गाँउपालिकामा मान बहादुर डाँगी अपाध्यक्ष करुणा गिरी लाई सर्बसम्मत सिफारिस गरिएको छ ।
यता कांग्रेस क्षेत्र नम्बर १ ले भने नगरपालिका र गाँउपालिकाका उम्मेदवारहरुको छनौट अझै गर्न सकेको छैन । क्षेत्रीय समितिले उम्मेदवारहरुको सर्वसम्मत छनौट गर्न नसकेपछि जिल्लामा रहेको छनौट समितिमा सिफारिस भएर आएका उम्मेदवारहरुको नामावली पेश गरेको छ ।
यद्यपी सिफारिस भएर आएका नामावली छलफलकै क्रममा रहेको नेपाली कांग्रेस सल्यानले जनाएको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्र समेटेका शारदा नगरपालिका र वनगाड कुपिन्डे नगरपालिका मध्य शारदा नगरपालिकाका उम्मेदवारहरुको छनौट भइसकेको भएपनि बनगाड नगरपालिकाको अध्यक्षता क्षेत्र नम्बर १ का सभापति गोरख बहादुर के.सी. ले गर्ने भएकाले क्षेत्र नम्बर १ का अन्य गाउँपालिकाको उम्मेदवारहरुसँगै छनौट हुने बुुझिएको छ ।
यसैगरी नेकपा एमालेले पनि जिल्लाका सबै नगरपालिका र गाँउपालिकाका उम्मेदवारहरुको छनौट गरी प्रदेशमा सिफारिस गरेको छ । यद्यपी एमालेले पनि आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । गोप्य स्रोतले दिएको जानकारी अनुसार नेकपा एमालेले वागचौर नगरपालिकाको मेयरमा लोक बहादुर डाँगी, उपमेयरमा ओकादेबी खत्री, शारदा नगरपालिकाको मेयरमा राम खड्गी, उपमेयरमा सरिता हमाल, कपुरकोट गाँउपालिकाको अध्यक्षमा भिम बहादुर सेन, कुमाख गाँउपालिकाको अध्यक्षमा भैरब बहादुर शाह, छत्रेश्वरी गाँउपालिकाको अध्यक्ष हरि के.सी., वनगाड कुपिन्डे नगरपालिकाको मयरमा गोबिन्द पुन लाई सिफारिस गरेको छ ।
त्यस्तै कालिमाटी गाँउपालिकाको अध्यक्षमा टेकमान वली लाई अघि सारेको छ । एमालेले दार्मकोट गाँउपालिकामा दल बहादुर केसी को नाम अध्यक्षमा अगाडी सारेको र उपाध्यक्षको टुंगो नलगाएको हुँदा अरु पार्टीसँग समिकरणको ढोका खुलै राखेको बुझिएको छ ।
यता नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु छनौट गरेको छ । यहाँ रहेका ७ गाउँ र ३ नगरपालिका उम्मेदवारहरुको नाम अनुमोदन र सिफारिस गरेको जनाएको छ ।
गाउँपालिका र नगरपालिका वाट सर्वसम्मत आएका उम्मेदवारहरुको नाम अनुमोदन गरेको छ एक पदमा धेरै सिफारिस आएका प्रदेश समितिमा सिफारिस गरिएको छ ।
दार्मागाउँपालिकामा अध्यक्षमा निमराज केसी, उपाध्यक्षमा टिका वली, छत्रेश्वरीमा चित्रवहादुर केसी र राधा शर्मा, त्रिवेणीमा अजय रोका र लिलावती वुढा, कपुरकोटमा प्रकाश भण्डारी र एलिना राना, ढोडचौरमा नरविर चलाऊने र भूमि वुढाथोकीलाई अध्यक्ष र उपाध्यक्षमा सर्व सम्मत छनौट गरेको माओवादी केन्द्र सल्यानले जनाएको छ ।
यस्तै शारदा नगरपालिकामा प्रमोद श्रेष्ठ र झरणा वुढाथोकी, वनगाड कुपिण्डे नगरपालिकामा कर्णवहादुर वुढाथोकी र मञ्जु यरी मेयर र उपमेयरमा सर्वसम्मत छनौट भएका छन् ।
एक पदमा धेरैको सिफारिस वागचौर नगरपालिकामा मेयरमा ज्ञानवहादुर वली, लोकमान वुढाथोकी र टिकाराम वली, उप मेयरमा कल्पना पुन, सुम्नीमा डिसी र कमला वलीको सिफारिस भएको छ ।
यस्तै कालीमाटी गाउँपालिकामा अध्यक्षमा जीतवहादुर पुन, पुरुषोत्तम भटराई, रुद्रवहादुर घर्तिको नाम सिफारिस भएको छ र यहाँ भने उपाध्यक्षमा प्रिती डिसीको नाम सर्वसम्मत सिफारिस भएको माओवादी केन्द्रले जनाएको छ ।
कुमाखमालिका गाउँपालिकामा अध्यक्षमा धर्मे वुढाथोकी, तिलविर वुढाथोकी, दिलमाया विएम, उपाध्यक्ष डिल्लीप्रसाद जैसीको नाम सिफारिस भएको छ । अध्यक्षमा सिफारिस भएका तिनै जना साविकका कालागाउँ गाविसका रहेकाले क्षेत्रीय सन्तुलन मिलाउन पनि उपाध्यक्षमा जैसीको एकल सिफारिस आएकाले दिलमाया वुढाले प्रमुखको टिकट स्विकृत भएर आउने माओवादी नेताहरुको भनाई छ ।
गाउँपालिका र नगरपालिकावाट सर्व सम्मत आएका उम्मेदवारहरुका नाम वाहेक एक पदमा दुई तिन जनाको नाम सिफारिस भएर आएको नाम भने प्रदेशमा सिफारिस गरिएको जिल्ला इञ्चार्ज नेववहादुर कवँर विवेकले बताए । उनले भने, ‘सर्वसम्मत आएका नाम अनुमोदन गरी प्रदेशमा पठाएका छौ । एकै पदमा धेरैका नाम आएका प्रदेशमा एक छानेर पठाई दिन सिफारिस गरेका छौ ।’
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले शारदा नगरपालिकाको लागि पार्टीका सहमहामन्त्री मनोज प्रधानलाई मेयरमा लडाउने बुझिएको छ ।
प्रकाशित मिति: ११ बैशाख २०७४, सोमबार ०७:४१