
काठमाडौँ, ९ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेकाले वैशाख ३१ को स्थानीय तहको निर्वाचन व्यवस्थापकीय हिसाबले कुनै पनि हालतमा नसर्ने बताएका छन् ।
आज यहाँ आयोजित साक्षात्कारमा उनले मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्र, मतपेटिका र मसीलगायतका सामग्रीको व्यवस्थापन गरी ढुवानीसमेत सुरु भइसकेकाले यो अवस्थामा प्रतिकूल हुने निर्णय भएमा हामी सङ्कटमा पर्दछौँ, त्यसैले ३१ गतेको निर्वाचनको मिति सर्दैन, फेरबदल हुँदैन भने ।
उनले भने–‘‘वैशाख ३१ गतेको लागि मेहनतका साथ अघि बढिरहेका छौँ, निर्वाचन सम्पन्न नहुन्जेलसम्म हरेक दिन नयाँ समस्या आउँछन् त्यसलाई समाधान गर्ने क्षमता आयोगले राख्नुपर्दछ, त्यो क्षमता छ, तर आयोगको परिधिभन्दा बाहिरको राजनीतिक समस्या अझै विद्यमान छ, दलहरुबीच अझै पूर्णरुपमा सहमति हुन सकेको छैन् ।’’
“दलहरुबीच भइरहेको वार्ताले सकारात्मक ठोस निष्कर्ष निकालोस्, सम्पूर्ण मतदाताले निर्वाचनमा भाग लिने गरी सहमति गरून् भन्ने कामना गरौँ, प्रधानमन्त्री उत्साहका साथ समस्याको निकास निकाल्न प्रयत्नशील हुनुहुन्छ, यो निकासका लागि हामीले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्दछ, निर्वाचनको व्यवस्थापकीय ढङ्गबाट सम्पूर्ण मतदातालाई कुनै असर नपर्ने गरी अघि बढ्नु पर्दछ” – उनले भने ।
“निर्वाचन सार्न सक्ने अधिकार सरकारको हो, राजनीतिक दलसँग सहमति भयो भने कति अवधिका लागि सार्ने, किन सार्ने, कुन विषयलाई लिएर सार्ने भन्ने विषयमा सरकार र आयोगबीच हालको अवस्थाको सम्पूर्णं मूल्याङकन गर्न आवश्यक रहन्छ” – प्रमुख निर्वाचन आयुक्त डा यादवले भने ।
प्रधानमन्त्रीसँग प्रमुख आयुक्त यादवको भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आजै दिउसो प्रमुख आयुक्त डा यादवले निर्वाचनको तयारीबारे जानकारी गराएका थिए ।
सो अवसरमा प्रधानमन्त्रीले निर्वाचनको मिति सर्यो भने त्यस्को कस्तो असर पर्दछ, त्यसपछि हामी कसरी अगाडि बढ्न सक्दछौँ भनी जिज्ञासा राख्नुभएको– डा यादवले जानकारी दिए ।
प्रधानमन्त्रीले निर्वाचनको सहज वातावरण बनाउन सरकारले राजनीतिकरुपमा गरिरहेको प्रयासबारे आयोगलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्री दाहालले राजनीतिक दलहरुसँगको वार्ता निर्णायक मोडमा पुगेको र सहमतिको वातावरण बन्ने विश्वास व्यक्त गरेकाे जानकारी पनि प्रमुख आयुक्तले दिए ।
सुरक्षा समितिको बैठक
निर्वाचन आयोगमा आजै दिउँसो बसेको उच्चस्तरीय सुरक्षा समितिको बैठकमा भएको छलफलबारे जानकारी दिँदै प्रमुख आयुक्त यादवले २०६४ र २०७० कोभन्दा यसपटकको निर्वाचन सुरक्षा योजना राम्रो छ, वडा तहसम्मको सुरक्षा योजनाको रणनीति बनाइएको जानकारी दिए ।
आयोगले हिमाली ११ जिल्लाको मतपत्र हेलिकोप्टरबाट तथा अरु जिल्लाको ट्रकबाट पठाउन जनशक्ति र सुरक्षाको समेत व्यवस्थापन गरिसकेको जनाएको छ ।
बैठकमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु, गृहसचिव लोकदर्शन रेग्मी, नेपाली सेनाका बलाध्यक्ष रथी, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी थिए । रासस
प्रकाशित मिति: ९ बैशाख २०७४, शनिबार १९:०२