काठमाडौंः अमेरिकाले भन्सार छुट दिएका वस्तुको निर्यात बढाएर लाभ लिन नेपालसँग आग्रह गरेको छ ।
व्यापार तथा लगानी सम्झौता (ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट, टिफा) काउन्सिलको ६ वर्षपछि काठमाडौंमा भएको तेस्रो बैठकपछि अमेरिकाले शुन्य भन्सारमा बजार पहुँच दिइएका वस्तुको निर्यात बढाउन सरकारी अधिकारी र उद्योगी व्यवसायीसँग आग्रह गरेको हो ।
अमेरिकी दूतावासले काठमाडौंमा सरकारी प्रतिनिधि र उद्योगी व्यवसायीको उपस्थितिमा कार्यक्रम गरी ट्रेड प्रिफरेन्स प्रोग्राम अन्र्तगत निर्यात प्रबद्र्धन गरेर लाभ लिन आग्रह गरेको छ ।
अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले आफ्नो मुलुक नेपालका लागि ठूलो बजार भएकाले उद्योगी व्यवसायीले भन्सार छुट दिइएका वस्तुको निर्यात बढाएर फाइदा लिनसक्नुपर्ने बताए ।
ट्रेड प्रिफरेन्स प्रोग्राम अन्र्तगत नेपाललाई गलैंचा, कुकुरको खाना, पश्मिना सल, हाते झोला, चाँदीका गहना लगायतका विभिन्न ६६ वटा वस्तुको निर्यातमा भन्सार छुट दिंदै आएको अमेरिकाले २०७२ को भूकम्पछि थप ११ वटा वस्तुको निर्यातमा शुन्य भन्सार सुविधा दिने निर्णय गरेको छ ।
अमेरिकी राजदूत अलाइना बी टेप्लेट्जले गुणस्तरीय सामान उत्पादन गरेर निर्यात बढाउन उद्योगी व्यवसायीसँग आग्रह गरिन् । उनले गुणस्तरीय सामानका लागि अमेरिकामा बजारको समस्या नरहेको बताईन् ।
अमेरिकाले सन् २०२५ सम्म ७७ वस्तुको निर्यातमा नेपाललाई भन्सार छुट दिने निर्णय गरिसकेको छ । नेपालका लागि अमेरिका दोस्रो ठूलो बजार हो ।
नेपालको कुल निर्यातको १२ प्रतिशत अमेरिकामा हुने गरेको तथ्यांक छ । गत आर्थिक वर्ष करिब ९ अर्ब रुपैयाँका नेपाली वस्तु अमेरिका निर्यात भएका थिए । कार्यक्रममा वाणिज्यमन्त्री रोमी गौचन थकालीले अमेरिकाले दिएको भन्सार छुटबाट लाभ लिन उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भने नेपाली उद्योगी व्यवसायीहरुमा अमेरिकी बजार र त्यहाँको मागका बारेमा पर्याप्त सुचना नरहेका कारण निर्यात बढाउन नसकिएको बताए । उनले निर्यात बढाउनका लागि प्राविधिक सहयोग गर्न अमेरिकी दुतावाससँग आग्रह गरे ।
टिफा काउन्सिलको तेस्रो बैठकमा पनि नेपाली पक्षले शुन्य भन्सार सुविधा दिइएका वस्तुको उत्पादन र गुणस्तर वृद्धिका लागि लगानी तथा प्राविधिक सहयोग विस्तार गर्न अमेरिकी पक्षसँग आग्रह गरेको थियो ।
नेपालको निर्यात व्यापारलाई प्रबद्र्धन गर्न थप प्रतिस्पर्धी वस्तुलाई पनि सहुलियतपूर्ण बजार सुविधा उपलब्ध गराउन समेत आग्रह गरिएको बैठकमा सहभागी वाणिज्य मन्त्रालयका अधिकृतहरुले बताएका छन् ।
प्रकाशित मिति: ९ बैशाख २०७४, शनिबार ०८:०३