काठमाडौं, ७ वैशाख । यातायात व्यवस्था कार्यालय इटहरीका कर्मचारीहरूले करिब ५७ करोड रुपैयाँ राजस्व हिनामिना गरेको पाइएको छ । सेवाग्राहीबाट उठाइएको ५६ करोड ५८ लाख रुपैयाँ राजस्व कार्यालयका कर्मचारीहरूकै मिलेमतोमा हिनामिना गरिएको भेटिएको छ ।
यातायात व्यवस्था विभाग काठमाडौंले इटहरीस्थित यातायात कार्यालयमा ठूलो आर्थिक अनियमितता भइरहेको आशंकासहित अनुसन्धान गर्दा यो रहस्य खुलेको हो । करोडौं रुपैयाँ राजस्व हिनामिना गरेको भेटिनासाथ विभागले बुधबार नै यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुख नयराज नेपाल, लेखा अधिकृत टीकाराम अधिकारी, लेखापालद्वय सुरेश अधिकारी, रुद्रप्रसाद दाहाल र नायब सुब्बा टीकाराम बाँस्तोलालाई निलम्बन गरेको छ ।
निलम्बनमा परेका पाँचैजना कर्मचारीहरूमाथि थप अनुसन्धान गर्न विभागले बुधबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ । विभागले अख्तियारलाई पठाएको पत्रमा यातायात व्यवस्था कार्यालय इटहरीको महालेखा परीक्षण गर्ने कर्मचारीलाई समेत अनुसन्धानको दायरामा ल्याउन अनुरोध गरिएको छ ।
सवारी कर, यातायात दस्तुर, सडक सुधार कर, आय कर आदिबापत संकलन भएको राजस्व हिनामिना गर्दा कर्मचारीहरूले नै फर्जी बिलसमेत तयार पारेको भेटिएको विभागले जनाएको छ ।
घोटालाका प्रमुख योजनाकार लेखापाल सुरेश अधिकारी रहेको विभागले जनाएको छ । अधिकारीकै योजनामा तीन वर्षदेखि राजस्व घोटाला हुन थालेको ठहर गरिएको छ । विभागले यस कार्यमा निलम्बित कर्मचारीका साथै अन्य सरकारी कर्मचारीहरूको समेत संलग्नता हुन सक्ने आशंका गरेको छ ।
विभागले सरुवा गरिसकेको भए पनि करिब पाँच वर्षअघिदेखि नै अधिकारी अटेर गर्दै इटहरी कार्यालयमा बसेका थिए । कार्यालयबाट उनलाई रमानापत्र दिइएको थिएन । यस विषयलाई लिएर अख्तियारले विभागलाई पहिले पनि पत्राचार गरेको थियो ।
तर, अधिकारीले रमानापत्र लिनुको सट्टा सांसददेखि मन्त्रीसमेतको सोर्सफोर्स लगाएर अटेर गरिरहेका थिए । अधिकारीको पक्षमा विभागका उच्च अधिकारीहरूलाई सांसददेखि मन्त्रीसम्मले सरुवा नगर्न दबाब दिइएको बताइएको छ ।
सांसददेखि मन्त्रीसम्मको दबाब परेपछि विभागले ठूलो आर्थिक घोटाला भइरहेको हुन सक्ने आशंकासहित यातायात व्यवस्था कार्यालय इटहरीमाथि अनुसन्धान गरेको थियो । अनुसन्धान टोलीले ३ करोड रुपैयाँ हिनामिना भएको प्रतिवेदन दिएको थियो । अनुसन्धान टोलीको प्रतिवेदन आएपछि विभागले भीआरएस सिस्टम (राजस्वसम्बन्धी कम्युटर प्रणालीबाट हेर्ने व्यवस्था) मै गएर इटहरीमा संकलित राजस्वको रिपोर्ट हेरेको थियो ।
भीआरएस सिस्टमबाट हेर्दा ५६ करोड ५८ लाख रुपैयाँ राजस्व हिनामिना गरिएको निष्कर्ष निकालिएको हो । इटहरीमा यति धेरै रकम हिनामिना भएको देखिनासाथ बुधबार पाँच कर्मचारीलाई थप अनुसन्धानका लागि अख्तियारलाई पत्र पठाइएको हो ।
अख्तियारका प्रवक्ता जीवराज कोइरालाले घोटालामा संलग्न देखिएका पाँचैजना कर्मचारीमाथि अनुसन्धान सुरु भइसकेकोे बताए । ‘पाँचैजना कर्मचारीमाथि आजै (बुधबार) देखि प्रारम्भिक अनुसन्धान अगाडि बढाइएको छ,’ कोइरालाले भने,‘अनुसन्धानबाट उनीहरू दोषी ठहर गरियो भने कानुनबमोजिम कारबाहीको प्रक्रियामा लगिनेछ ।’
प्रकाशित मिति: ७ बैशाख २०७४, बिहीबार ०६:३८