सल्यान, ६ वैशाख । सल्यानमा पछिल्लो समय आँखासम्बन्धी विभिन्न रोगका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।
गर्मी बढेसँगै आँखा उपचार केन्द्र शीतलपाटीमा बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको हो । अघिल्लो महिनामा एक हप्तामा आउने बिरामी आजभोलि एकै दिनमा आउने गरेको आँखा उपचार केन्द्र शीतलपाटी आँखा स्वास्थ्य कार्यकर्ता पदमराज पन्तले जानकारी दिए ।
आँखा बिझाउने, चिलाउने, मासु पलाएका, मोतिबिन्दुजस्ता आँखाका बिरामी बढी आउने गरेको पन्तले जानकारी दिए । शीतलपाटी केन्द्रले विभिन्न समयमा सञ्चालन गरेको आँखा शिविर तथा प्रचारप्रसारले पनि बिरामीको सङ्ख्या विगतका वर्षभन्दा यस वर्ष बढेको बताइएको छ ।
राप्ती आँखा उपचार केन्द्र रक्षाचौरले सञ्चालनमा ल्याएको सल्यान आँखा उपचार केन्द्रमा औषधि वितरण, चस्मा जाँच र बिक्री तथा सामान्य शल्यक्रिया समेत गरिँदै आएको छ । ठूला शल्यक्रियाका लागि भने केन्द्रले रक्षाचौरमा पठाउने गर्दै आएको छ ।
वृद्धवृद्धालाई सम्मान ‘मोतिबिन्दु न्यूनीकरण हाम्रो अभियान’ भन्ने नारासहित गाउँमा आँखा जाँच कार्यक्रम पुर्याएको भन्दै शिविर नभएका स्थानमा स्थानीय व्यवस्थापनको जिम्मा लिए निःशुल्क आँखा जाँच कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यकर्ता पदमराज पन्तले बताए ।
आँखा स्वास्थ्य कार्यकर्ताले जथाभावी औषधि प्रयोग नगर्न र आँखा जाँचपछि मात्र औषधि प्रयोग गर्न केन्द्रले सल्लाह दिएको छ । रासस
प्रकाशित मिति: ६ बैशाख २०७४, बुधबार १३:११