बाबियाचौर (म्याग्दी), ५ वैशाख । दुई वर्षअघिको विनाशकारी भूकम्पले म्याग्दीको शिख माविको भवन चिराचिरा परेर भत्कने अवस्थामा पुगेपछि महिनौँसम्म पठनपाठन प्रभावित भयो ।
जोखिमपूर्ण भवनमा विद्यार्थीलाई अध्यापन गराउँदा भत्किने त्रासले पठनपाठन प्रभावित भएपछि जिल्ला शिक्षा कार्यालयले चार कोठे भवन निर्माणका लागि गत आवमा रु ३२ लाख अनुदान उपलब्ध गरायो ।
तर, शिखवासीले त्यसको तीन गुणाभन्दा बढी रु एक करोड ४० लाख सहयोग जुटाएर चार कोठेको सट्टा छ कोठे पक्की भवन निर्माण गरेका छन् ।
शिक्षा कार्यालयको अतिरिक्त सांसद विकास कोषबाट रु १० लाख, साविकको शिख गाविसबाट रु आठ लाख ५० हजार र बाँकी स्थानीयबाट सहयोग जुटाएको सहयोग सङ्कलन अभियानका संयोजक बलबहादुर पुनले जानकारी दिए ।
उनका अनुसार विद्यालय निर्माणका लागि बेलायतको शिख्तानी समाजबाट रु २० लाख ५४ हजार, शिख्तानी समाज हङकङबाट रु १५ लाख १५ हजार, पोखरा, काठमाडौँ र शिखका स्थानीयबाट रु २० लाख ७२ हजार, विद्यालय हितकोषबाट रु छ लाख ७४ हजार, अमेरिका जापान, अस्टे«लिया, सिङ्गापुरबाट रु आठ लाख १८ हजार र नमस्ते इन्फान्टस् डी हिमालय फ्रान्सबाट रु १६ लाख छ हजार प्राप्त भएको हो ।
“यहाँको समस्याका बारे सबैलाई जानकारी गराएपछि स्वतःफुर्तरुपमा सहयोग प्राप्त भएको हो”, संयोजक पुनले भन्नुभयोे । सो भवन भूकम्प प्रतिरोधी क्षमताको भएको प्रअ जगदीश आचार्यले बताए ।
“स्थानीयबाट सहयोग प्राप्त नभएको भए सरकारले दिएको चार कोठे भवन पनि निर्माण सम्भव थिएन्”, प्रअ आचार्यले भने, “स्वदेश तथा देशका विभिन्न ठाउँमा बस्ने स्थानीयले खुलेर सहयोग गर्नुभएको छ ।”
विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय हितकोष सुरु गरिएकाले त्यसलाई थप प्रभावकारी बनाउन बचत रकमले सहयोग प्रअ आचार्यले बताउनुभयो । विसं २०११ मा स्थापना भएको विद्यालयमा अहिले २०० विद्यार्थी अध्ययनरत छन् । सुविधा सम्पन्न छ कोठे भवन बनेपछि जोखिम मोलेर टहरामा अध्ययन गर्ने बाध्यता सधैँका लागि अन्त्य भएको छ । रासस
प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलवार १०:४२