काठमाडौँ, ५ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिबिआइएन ( बङ्गलादेश, भुटान, भारत र नेपाल) का आर्थिक गतिविधिलाई सक्रिय बनाउन व्यापार तथा यातायातसम्बन्धी नीतिलाई सरलीकरण गर्नुपर्ने बताएका छन् ।
रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानसम्बन्धी संस्था (आइएसएसआर)को आयोजनामा आजदेखि यहाँ सुरु भएको ‘बिबिआइएन मुलुकमाझको सहायताको सबलीकरणः आगामी मार्ग’ विषयको दुईदिने सम्मेलनको सुरुआत गर्दै उनले व्यापारमा हुने प्रणालीमा देखिएका अपर्याप्तता र अपारदर्शितालाई हटाउन नीतिगत रुपमा सरलीकरण आवश्यक भएको बताएका हुन् ।
बिबिआइएन मुलुकको आर्थिक आकार र विकासको तह बुझेर सहकार्यलाई अझ प्राथमिकता दिनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री देउवाले जनताका उच्चाकाङ्क्षालाई पूरा गर्न उपक्षेत्रीय निर्णयलाई मूर्तरुप दिनुपर्नेमा जोड दिए ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अनुभवले सहमतिमा आधारित प्राथमिकताका सम्झौता कार्यान्वयन नभएको बताउँदै उहाँले लगानीको प्रवद्र्धन तथा सुरक्षाका लागि यातायात र आपसी सम्पर्कलाई सार्क मुलुकमा बहुपद्धतिपूर्ण रुपमा उपयोग गर्नुपर्ने बताए ।
विभिन्न वस्तु, सेवा र वित्तीय क्षेत्रको व्यापारिक अवसरलाई उजागर गर्दै लैजान सदस्य मुलुकले अगुवाइ गनुपर्नेमा जोड दिँदै उनले यस क्षेत्रलाई सक्रिय रुपमा अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा मुख्य वक्ता प्रा डा सचिन चतुर्वेदीले बिबिआइएनको साधनस्रोत अधिकतम प्रयोग गरेर एसियाली क्षेत्रको विकासलाई अगाडि बढाउन सकिने बताउँदै इन्डो–प्यासिफिक क्षेत्रमा समृद्धि ल्याउन यी मुलुकबीच रहेका आर्थिक अवरोधलाई हटाइनुपर्नेमा जोड दिए ।
नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते सामले गरिबीको रेखामुनि रहेका बिबिआइएन मुलुकलाई अगाडि बढाउनका लागि सबैसँग सहकार्य एवम् सम्पर्कलाई विशेष महत्वका साथ अगाडि बढाउनुपर्ने बताए ।
आइएसएसआरका अध्यक्ष प्रा डा विश्वम्भर प्याकुरेलले क्षेत्रीय विकासलाई माथि उठाउन बिबिआइएन मुलुकबीचको सहकार्य र सम्पर्क बढाउनुपर्ने औँल्याउनुनभयो । कार्यक्रममा प्रा डा मदन दाहाल र प्रा डा गोविन्द नेपालले पूर्वाधार, रेल र यातायातबाट बिबिआइएनलाई जोडेर आर्थिक गतिविधिलाई द्रुतरुपमा अगाडि बढाउन सकिने धारणा राखेका थिए । रासस
प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलवार ०७:१८