तुलसीपुर (दाङ), ३ वैशाख । स्थानीय तहको निर्वाचन आउन अब २८ दिन मात्र बाँकी रहँदा दाङमा चुनावी चहलपहल बढेको छ ।
अहिले जिल्लाका दुई उपमहानगरपालिका एक नगरपालिकासहित सातवटा गाउँपालिकामा चुनावी चहलपहल बढेको हो ।
घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकालगायत सातवटा गाउँपालिकाका विभिन्न वडा तथा गाउँमा आ–आफ्ना पक्षमा मतदातालाई आकर्षित गर्नका लागि विभिन्न दलले बैठक, भेला, सभा लगायतका कार्यक्रम गरिरहेका छन् ।
यसैबीच जिल्लाको सबैभन्दा पुरानो नगर सदरमुकाम रहेको घोराही उपमहानगरपालिकामा यतिखेर चुनावी सरगर्मी बढेको छ ।
सो उपमहनगरपालिकामा आफ्नो दलको वर्चस्व कायम राख्न प्रमुख तीन दलसहित साना दललेसमेत दौडधूप गरेपनि अहिलेसम्म कुनै पनि दलले उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।
घोराही उपमहानगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र (माओवादी केन्द्र) बीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
त्रिभुननगरलाई २०६२-६३ को आन्दोलन पछि घोराही नगरपालिका बनाइएकामा गतवर्ष त्रिपुर नगरपालिका, रामपुर गाविस, धर्ना सौडियार सैघा गाविसलाई गाभेर उपमहानगरपालिका घोषणा गरिएको हो । सो उपमहानगरपालिकामा एक लाख ५६ हजार १६४ जनसङ्ख्या छ ।रासस
प्रकाशित मिति: ३ बैशाख २०७४, आईतवार १२:०९