काठमाडौं, ३ वैशाख ।सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र परिवर्तन नचाहने पक्षबाट निर्वाचन हुन नदिने हल्ला फिजाएको निष्कर्षमा पुगेको छ । उसले जुनसुकै मूल्य चुकाएर भए पनि आगामी ३१ वैशाखका लागि घोषणा गरिएको निर्वाचन सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।
माओवादी केन्द्रको शुक्रबार बसेको केन्द्रीय कार्यालय सदस्यहरूको बैठकले प्राप्त उपलब्धिलाई कमजोर बनाउन ३१ वैशाखको निर्वाचन सफल हुन नदिने खेल भइरहेको भन्दै जुनसुकै मूल्य चुकाएर भए पनि निर्वाचन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
मोर्चाले प्रदेशलाई र कांग्रेस–एमालेले केन्द्रलाई बलियो बनाउन खेल खेलिरहेको भन्दै माओवादी बैठकले आफूहरूको एजेन्डा स्थानीय तह नै भएको र यसलाई बलियो बनाउन पनि तोकिएको मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको हो । स्थानीय निर्वाचन भए सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्ने बैठकको निष्कर्ष रहेको छ ।
‘लोकल लेभल (स्थानीय तह) लाई बलियो बनाउन नचाहनेले निर्वाचन चाहेका छैनन्,’ माओवादी केन्द्रीय कार्यालय सदस्य मणि थापाले भने, ‘मोर्चाले प्रदेशलाई र कांग्रेस एमालेले केन्द्रलाई बलियो बनाउन खोजिरहेका छन्, तर हामीले स्थानीय तहलाई बलियो बनाउनुपर्छ भनिरहेकाले पनि ३१ वैशाखमा निर्वाचन गरेरै जानुपर्छ भन्नेमा हामी पुगेका छौं ।’
बैठक निष्कर्ष : मोर्चा निर्वाचनमा आए स्थानीय तह संख्या बढाउन सकिन्छ
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले बैठकमा मोर्चाका कारण निर्वाचन नरोकिने भन्दै मोर्चा निर्वाचनमा सहभागी हुने विश्वाससमेत व्यक्त गरेका थिए । ‘मोर्चा निर्वाचनमा आउने सम्भावना टरेको छैन, अन्तिमसम्ममा मोर्चा निर्वाचनमा आउँछ, छलफल भइरहेको छ,’ प्रधानमन्त्रीले भने, ‘मोर्चा निर्वाचनमा आए पनि, नआए पनि निर्वाचन रोकिन्न ।’
माओवादी प्रवक्ता पम्फा भुसालले ३१ गतेको निर्वाचन यताउति हुने कुनै सम्भावना नरहेको बताइन् । ‘निर्वाचनका लागि आयोगले सबै काम अगाडि बढाइसकेको छ, सरकार तयार छ कांग्रेस, एमाले, माओवादी र राप्रपा तयार छन् । जनता पनि तयार भइसकेका छन्,’ प्रवक्ता भुसालले राजधानीसँग भनिन्,
‘अब चुनाव सर्छ कि भनेर शंका गरिरहनु हुन्न, निर्वाचन जसरी पनि गर्नुपर्छ, हुन्छ ।’
बैठकले मोर्चालाई सहभागी गराउन अझै लचिलो भएर प्रस्तुत हुने तर मोर्चाकै कारण निर्वाचन रोक्न नहुने निष्कर्ष निकालेको छ । मोर्चा निर्वाचनमा आउने ग्यारेन्टी गरेमा दुई चरणमा निर्वाचन गर्न सकिने विषयमा छलफल गर्न सकिने तर निर्वाचनमा आउने ग्यारेन्टी नहुँदाको अवस्थामा भने एकै चरणमा देशभर निर्वाचन गर्नुपर्ने केन्द्रीय कार्यालय सदस्यहरूको जोड रहेको थियो ।
चुनावमा आए मात्र स्थानीय तह संख्या थप
माओवादी केन्द्रले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा निर्वाचनमा सहभागी भएमा मात्रै प्रदेश नम्बर २ मा स्थानीय तह संख्या बढाउने बताएको छ । मोर्चाको माग सम्बोधनका लागि नै संख्या वृद्धि गर्न खोजिएको भन्दै मोर्चा निर्वाचनमा नआए अहिले कायम भएको ७ सय ४४ वटा स्थानीय तहबाट संख्या नबढाउनेमा माओवादी केन्द्र पुगेको हो ।
मोर्चा निर्वाचनमा सहभागी बनेमा भने संख्या बढाउने माओवादीको निष्कर्ष रहेको छ । सरकारले मोर्चाको माग सम्बोधनका लागि भन्दै संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाको नेतृत्वको एक समिति गठन गरेको छ । समितिले स्थानीय तह संख्या बढाउन आवश्यक रहे÷नरहेकोबारे अध्ययन गरेर प्रतिवेदन बुझाउने छ ।
प्रकाशित मिति: ३ बैशाख २०७४, आईतवार ०८:३०