काठमाडौँ, २ वैशाख । उपप्रधान् एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्वाचनमा भाग नलिए पनि वैशाख ३१ गते एकै चरणमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले भने, “ मोर्चाको माग सम्बोधन गर्नका लागि हामीले उनीहरुसँगको सहमतिमा संशोधन प्रस्ताव दर्ता गरायौँ, तर उनीहरुले त्यसलाई अस्वीकार गरेर गम्भीर भूल गरेका छन्, अझै पनि मोर्चाले आफ्नो निर्णय पुनःविचार गर्न आग्रह गर्दछौँ ।”
उनले बिहान सत्तारुढ प्रमुख तीन घटक नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र र आफ्नो पार्टी राप्रपाको प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको जानकारी दिँदै बैठकले मोर्चालाई पनि चुनावमा सँगै लिएर जान अन्तिम समयसम्म पनि पहल गर्ने र यसका लागि वार्ता र संवादलाई कायम राख्ने निर्णय गरेको बताए ।
राप्रपा अध्यक्ष थापाले भने, “मोर्चासँग अन्तिम समयसम्म पनि सहमतिको प्रयत्न रहन्छ, तर उहाँहरु नआए पनि निर्वाचन कुनै पनि हालतमा रोक्दैनौँ, यसबारेमा काँग्रेस, माओवादी केन्द्र र राप्रपाबीच सहमति भएको छ ।”
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र राप्रपाबाट आफू उपस्थित रहेको उनले जानकारी दिए ।
उनले वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा उत्साहजनक रुपमा सहभागी हुन सबैलाई आग्रह गर्दै चुनावमा सबैको सहभागिता होस् भनेर नै वर्तमान सरकारले अथाह प्रयास गरिरहेको छ भने ।
उपप्रधानमन्त्री थापाले भने, “सरकारले मोर्चासँगको सहमतिमा नै नयाँ संशोधन विधेयक ल्याएको हो, उहाँहरुसँग भएको पाँचबुँदे सहमतिका आधारमा हामीले विधेयक अघि बढाएका थियौँ । उहाँहरुले विधेयक अस्वीकार गरेको निर्णय अप्रत्यासित र अनपेक्षित छ ।”
मोर्चाका नेतासँग पाँच सूत्रीय भद्र सहमति भएको र सोहीअनुरुप पुरानो विधेयकबाट सीमाङ्कनबाहेक भाषा, नागरिकता र राष्ट्रियसभाको प्रतिनिधित्वलाई नयाँमा राख्ने, सीमाङ्कनलाई सङ्घीय आयोग गठन गरेर जाने, संविधानको धारा २७४ परिमार्जन गर्ने, जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या वृद्धि गर्नेगरी विधेयक ल्याइएको स्पष्ट पारे ।
उनले मोर्चाले प्रस्तावको समर्थन गरेको भए, सरकारसँग दुई तिहाइ पुग्ने आधार रहेको जानकारी दिए ।
उनले आफूले अहिले पनि मोर्चासँग वार्ता तथा संवाद गरिरहेको जानकारी दिँदै मोर्चाले आफ्नो निर्णयमा पुनःविचार गर्ने आशा व्यक्त गरे । उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले अन्य पार्टीसँग तालमेल गर्ने नीति अख्तियार गरेको बताए । रासस
प्रकाशित मिति: २ बैशाख २०७४, शनिबार ०७:२८