वीरगन्ज ३१ चैत । एसियाली विकास बैंक(एडिबी)को ऋण सहयोगमा वीरगन्ज नगरमा सन्चालित मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजनाको काम बैशाख १ गते देखि रोकिने भएको छ।
आयोजनाको ठेक्का सकारेको कालिका कन्स्ट्रक्सन प्रालिले रकमको अभावमा बैशाख १ देखि आयोजनाको काम रोक्ने जनाएको हो।
एडीबी , वीरगन्ज उपमहानगरपालिका र नगर विकास कोषले समयमा रकम उपलब्ध नगराएको भन्दै कालिका कन्ट्रक्सन प्रालिले बैशाख १ गते देखि काम गर्न नसक्ने भन्दै एडीबी, शहरी विकास मन्त्रालय, वीरगन्ज उपमहानगरपालिका कार्यालयलाइ लिखित रुपमै जानकारी गराइसकेको छ।
आयोजनाका व्यवस्थापक इन्जिनियर शैलेन्द्र श्रेष्ठले कालिका कन्स्ट्रक्सनले एडिबी, नेपाल सरकार(शहरी विकास मन्त्रालय) र वीरगन्ज उपमहानगरपालिका कार्यालयले तोकिएको समय भन्दा निकै ढिलोसम्म पनि रकम उपलब्ध नगराएको जनाउँदै चैत मसान्त सम्म रकम भुक्तानी नगरे काम रोकिने चेतावनी दिएको बताउनुभयो।
आर्थिक तथा ब्यपारिक नगर भनेर चिनिने वीरगन्जलाइ डुबान र ढल-निकासको समस्याबाट निजात दिलाउनका लागि नै एडिबीको ऋण सहयोगमा दुइ अर्ब ४८ करोड ३६ लाख एक हजार रुपैयाको लगानीमा मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना अन्तर्गत भूमीगत ढल , नाला र सडक स्त्तरोन्नतीको काम दुइ वर्ष देखि भइरहेको छ।
आयोजनामा एडीबीको ८१ प्रतिशत , नगर विकास कोष र(शहरी विकास मन्त्रालय)बाट ११ प्रतिशत र वीरगन्ज उपमहानगरपालिका कार्यालयले आठ प्रतिशत समपुरक रकम (म्याचिङ फण्ड) लगानी गरेको छ। आयोजनाका व्यवस्थापक इन्जिनियर श्रेष्ठका अनुसार चैत अन्तिम साता सम्म आयोजनाको करिब ७५ प्रतिशत मात्रै काम सकिएको छ।
कालिका कन्स्ट्रक्सनका व्यवस्थापक ठाकुर ढकालले लामो समय देखि वीरगन्ज उपमहानगरपालिका कार्यालय ,नेपाल सरकार र एडिबीले भुक्तानी दिन विलम्ब गरेपछि चरम आर्थिक अभावले आयोजनाको काम ठप्प गर्नुपर्ने बाध्यता भएको बताउनुभयो।
वीरगन्ज उपमहानगरपालिकाले विगत ६ महिना देखि म्याचिङ फण्ड बापतको ६ करोड रुपैया उपलब्ध नगराएको, नगर विकास कोषले पनि १२ करोड रुपैया दिन ढिलाइ गरेको तथा एडिबीले समेत नौ करोडको हाराहारीमा रकम दिन बिलम्ब गरेकोले आर्थिक समस्याको कारण काम ठप्प गर्नुको विकल्प नरहेको ढकालले बताउनुभयो।
यो आर्थिक वर्षमा अहिले सम्म पाउनु पर्ने रकम मध्ये करिब २७ करोड रुपैया बाँकी छ , हामीले अहिले सम्म आफुसँग भएकै रकम खर्च गरेर काम गरिरहेका छौ , उहाँले भन्नभयो, ‘अब हामीसँग पनि पैसा छैन, त्यसैले काम रोक्नु पर्ने बाध्यता आइपरेको छ।’
रकमको अभावमा काम रोक्ने अवस्था आइसकेको भन्दै सम्बन्धित निकायलहरुलाइ लिखित जानकारी गराएको एक साता बिति सक्दा पनि कुनै पनि निकायबाट यस बारेमा जवाफ नआएको ढकालले बताउनुभयो।
ढकालले रकमको अभावको संगसंगै वीरगन्ज उपमहानगरपालिका कार्यालयले सम्झौता अनुसार आयोजनाको काम भइरहेको स्थानमा रहेका विद्युतका पोल , टेलिफोनको पोल र खानेपानीको पाइप नहटाएका कारण पनि आयोजनाको कामले गति लिन नसकेको गुनासो गर्नुभयो।
आयोजना निर्माणका लागि २४ मार्च २०१४ मा एडीबी र निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन प्रालि बिच सम्झौता भएको थियो । तर आयोजनाको काम भने २७ अप्रिल २०१४ देखि शुरु भएको थियो।
सम्झौता भएको २५ महिना भित्र अर्थात १७ मे २०१६ मा आयोजनाको काम सक्नु पर्ने थियो। तर सम्झौता अनुसार काम नसकिएपछि कालिका कन्सट्रक्सनको आग्रहमा एडबीले ९ मार्च २०१७ सम्म काम सक्ने गरि एक वर्षको म्याद थप गरेको थियो।
पहिलो पटक थप गरिएको म्याद (९ मार्च २०१७ ) भित्र काम सक्ने सम्भावना नभएपछि ठेकेदार कालिका कन्सट्रक्सनले गरेको आग्रहमा एडीबीले फेरि दोश्रो पटक पाच महिना अर्थात ८ अगस्त २०१७ सम्मको म्याद थपेको छ।
उपमहानगरपालिका कार्यालयका सुचना अधिकारी एंव योजना अधिकृत प्रकाशमान अमात्यले भने म्याचिङ फण्डको रकम नदिएका कारणले आयोजनामा कुनै असर नपरेको दाबी गर्नुभयो।
हामीले कुल बजेटको आठ प्रतिशत मात्रै दिनु पर्ने हो , यसले नै काममा असर परयो भन्नु गलत कुरा हो , उनले भने ,‘ ५ करोड दिइसकेका छौ, बाकी रकम कतैबाट आयो भने दिन्छौ।
योजना अन्तरगत वीरगन्जमा ५३ किलोमिटर बर्खे नाला, ४२.२३ किलोमिटर ढल, १५.२० किलोमिटर घरेलु पानीको नाला,र पाँच किलोमिटर भुमिगत नाला र ६.०४ किलोमिटरको प्रकृतिक नाला निर्माण गर्न लागिएको छ।
शहरबाट निस्किने मुख्य नालाको पानी प्रसोधन गरेर सिर्सिया नदीमा मिसाउन छप्कैया नजिक करिब दश बिगहा क्षेत्रमा पानी प्रसोधन एकाइ र करिब एक बिगहा क्षेत्रफलमा आधुनिक उद्यान पनि बनाउन थालिएको छ। आयोजना अन्तर्गत नै ११.४० किलोमिटर सडकको स्तरोन्नती पनि गर्ने योजना रहेको छ।
प्रकाशित मिति: ३१ चैत्र २०७३, बिहीबार ०६:१३