काठमाडौँ, ३० चैत । नेपालको ऐतिहासिक सभ्यताका बारेमा लोककृष्ण भट्टराईले लेखेको पुस्तक ‘नेपाली सभ्यता – विगत र वर्तमान’ को आज यहाँ विमोचन गरिएको छ ।
पुस्तकको नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेकपा माओवादी (क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्य र साहित्यकार नरनाथ लुइँटेलले संयुक्तरुपमा विमोचन गरे ।
पुस्तकको विमोचन गर्दै वरिष्ठ नेता खनालले गणतन्त्र र लोकतन्त्रको उत्पत्ति नेपालबाट भएको बताए ।
“नेपालको पुरानो सभ्यता हेर्ने हो भने गणतन्त्र र लोकतन्त्रको उत्पत्ति नेपालबाट नै भएको हो” उनले भने– “राजा शुद्धोधन गणराज्यले निर्वाचित गरेका प्रमुख थिए । अरु राजा पनि एउटा राज्यको प्रमुख भएको इतिहास छ ।”
पूर्व प्रधानमन्त्री खनालले लेखकले पुस्तकमा उल्लेख गरेजस्तै मिथिला सभ्यताको सुरुवात नेपालबाटै नै भएको दाबी गरे ।
उनले पुस्तकमा लेखिएको तथ्यको आधारमा वास्तविक सत्य पत्ता लगाउन सकिने हो भने नेपालबाट नै सभ्यताको सुरुवात गरिएको मान्न सकिने धारणा राखे ।
उनले नेपाल निर्माणको लागि ऐतिहासिक विकासक्रमको भौतिकवादलाई अध्ययन गर्न जरुरी रहेको उल्लेख गरे । नेता खानालले पुस्तकमा लेखिएका कुरा अध्ययनका लागि उत्सुक भएर लाग्न प्रेरणा दिने उल्लेख गर्दै हामी हाम्रो देशको इतिहासलाई अझ गहिरो तरिकाले अध्ययन गर्न सहयोग पु¥याउने दाबी गरे ।
कार्यक्रममा अर्का एमाले नेता नेपालले पुराना सभ्यताका रुपमा रहेका पुराना सालिक, दरबार भत्काउने कार्य भइरहेको बताए ।
“पुराना सभ्यता इतिहासलाई मेटाउन खोजिएको छ” उनले भने– “पुराना शासकका सालिक केही भए पनि समाप्त पार्न खोजिएको छ । पुरानाको चर्चा नगरी निमिट्यान्न पार्न खालका क्रियाकलाप भइरहेको छ ।”
“राणाकालीन दरबार भत्काइँदै छ । कुनै दिन नारायणहिटी दरबार पनि भत्काउने छन् । अनि शाहवंश समाप्त पारे भन्दै खुसीयाली गर्ने छन्” उनले भने– “कहिले बुद्धकालीन इँटा लुटेर इतिहास मेटिने खतरा रहेको छ ।” उनले इतिहासका वस्तुलाई जोगाउने संस्कार नभएकाले इतिहासप्रति गौरवबोध हुन नसकेको धारणा राखे ।
पुस्तकमाथि टिप्पणी गर्दै क्रान्तिकारीका अध्यक्ष वैद्यले नेपाली सभ्यताको विकासमा शिव, बुद्ध र कार्लमाक्सलाई एउटै ठाउँमा लेखकले उभ्याउन खोजिएको बताए । उनले विश्वको ठूलो सभ्यतामध्ये नेपालको सभ्यता पुरानो रहेको उल्लेख गर्दै शिव भौतिकवाद र बुद्ध द्वन्दात्मवाद भएको उल्लेख गरे ।
उनले मधेसवादी दललाई मिलाएर लैजानुको विकल्प नभएको भन्दै निर्वाचनमा दललाई चुनाव चिह्न नदिनु र मतदाताको नाम नराख्नु लोकतन्त्र विरोध भएको बताए ।
पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजना भएको कार्यक्रममा लेखक भट्टराईले नेपालको सभ्यतालाई विश्वसामु परिचित गराउन लागि पुस्तक लेखिएको बताए ।
उनले पुस्तकमा नेपाली सम्यताको विकास क्रमको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलन र नेपालको विकासको मोडेलको बारेमा लेखेका छन् । विभिन्न आठ अध्यायमा लेखिएको पुस्तकमा लेखकले नेपाली जनतालाई शिक्षित र दक्ष बनाउनका लागि उनको प्राकृतिक स्रोत साधन अधिकतम प्रयोग गर्नु जोड दिएका छन् । रासस
प्रकाशित मिति: ३० चैत्र २०७३, बुधबार १८:३८