काठमाडौँ, ३० चैत । नेवारी भाषाको साप्ताहिक पत्रिका ‘लहना’ चौथो वर्षमा प्रवेश गरेको छ ।
यस खुसियालीमा लहना प्रकाशन गृहले मङ्गलबार साँझ विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुलाई पुरस्कृत गर्नुका साथै एक सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो ।
जनकवि दुर्गालाल श्रेष्ठले नेवारी भाषाका साहित्यकार तथा लेखक प्रो माणिक लाल श्रेष्ठलाई लहना–पञ्चवीर पुरस्कार, सिने पत्रकार विजयरत्न असंबरेलाई लहना–सूर सम्मान, राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक राजु शाक्यलाई लहना–धर्म–मोति पत्रकारिता पुरस्कार र नेपाल समाचारपत्रका सहसम्पादक सुनिल महर्जनलाई लहना–मोहनी पुरस्कार प्रदान गरेका थिए ।
लहना प्रकाशन गृहका व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठले नेवारी भाषाको पत्रिकालाई व्यावसायिक रुपमा अघि बढाउन सफल भएको अनुभव सुनाउँदै यसलाई निरन्तरता दिन पाठक, लेखक, विज्ञापनदाता र शुभेच्छुकहरुबाट सदा झैं सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गरे ।
सांस्कृतिक कार्यक्रममा कलाकारहरु भीम तुलाधर, सुरजवीर बज्राचार्य, रीता महर्जन, दीपा महर्जन, अञ्जन श्रेष्ठ, पंकज राजोपाध्याय, निशान्त गौचन, सुरेन्द्र महर्जन, आराध्यलक्ष्मी खड्गी, कृपा बज्राचार्य, मिजला मानन्धर र लचना चित्रकारले आ–आफ्ना प्रस्तुति दिरेका थिए ।
लहना २०७० फागुन २७ गतेदेखि प्रकाशन हुँदै आएको छ । यसको प्रकाशक नृपेन्द्रलाल श्रेष्ठ र सम्पादक जुजुमान महर्जन छन् । रासस
प्रकाशित मिति: ३० चैत्र २०७३, बुधबार १०:३०