ताप्लेजुङ, ३० चैत । मेची अञ्चल प्रहरी प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले निर्वाचनलाई मध्यनजर गरी युद्धस्तरमा सुरक्षा योजना बनिरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा आज आयोजित अन्तक्र्रियामा अधिकारीले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउन अहिले सुरक्षा योजना निर्माण, सुरक्षा रणनीति निर्माण र तालिम लगायतका कार्य तीव्रगतिमा भइरहेको जानकारी दिए ।
यहाँको सुरक्षास्थितिका बारेमा जानकारी लिन ताप्लेजुङ आइपुग्नुभएका अधिकारीले जिल्लास्थित राजनीतिक दलका प्रमुख साथै सञ्चारकर्मीसँग सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका थिए ।
निर्वाचनका समयमा कुनै पनि नागरिकलाई असुरक्षित महसुस नहुने गरी सुष्म अध्ययनका साथ सुरक्षा संयन्त्रले योजना निर्माण गरिरहेकाले ढुक्क हुन उनले आग्रहसमेत गरे । अहिले हरेक क्षेत्रमा रहेका सुरक्षा चुनौतीलाई पहिचान गर्दै आवश्यक रणनीति बनिरहेको उनको भनाइ थियो ।
जिल्लास्थित राजनीतिक दलका प्रमुखले जिल्लाको सुरक्षा अवस्थाका बारेमा जानकारी गराउँदै सुरक्षा लिनेदिने विषयमा आफूहरु पनि सचेत रहेको बताउँदै राजनीतिक रुपले सुरक्षा अवस्था बिग्रन नदिने प्रतिबद्धतासमेत जनाएका छन् ।
यस्तै जिल्लाभित्र मदिराजन्य पदार्थका कारण हुने झै–झगडाले ठूलो रुप लिने भन्दै यसको नियन्त्रण गर्न र सबैसँग भएका इजाजत प्राप्त हतियारसमेत लिन उनीहरुले आग्रह गरेका छन् । केही निर्वाचन विरोधी दलले जिल्लाको फक्ताङ्लुङ गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरेकोतर्फ सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन् । रासस
प्रकाशित मिति: ३० चैत्र २०७३, बुधबार ०७:१३