नवलपरासी, २८ चैत । स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी मतदातालाई सहभागी गराउने उद्देश्यले नवलपरासीमा मतदाता शिक्षा अभियान थालिएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लाभरि करिब ४५९ जना मतदाता शिक्षा कार्यकर्ता र स्वयमसेवक परिचालन गरी सो अभियान थालिएको हो ।
नियुक्ति भएका मतदाता शिक्षा कार्यकर्ता अथवा स्वयंसेवकले निर्वाचन सामग्री वितरण, मतदाताको घरदैलोमा पुगी निमन्त्रणा गर्ने, मतपत्रको नमुना लिई मतपत्रमा स्वस्तिक छाप लगाउने तरिका मतदातालाई सिकाउने, बदर मत र सदर मतबारे जानकारी गराउने भन्ने मतदाताको घरदैलोमा पुगी प्रचारप्रसार गर्नेछन् ।
मतदाता शिक्षा कार्यकर्ता अथवा स्वयंसेवकलाई तालिम दिइसकिएको र आ–आफ्नो कार्यक्षेत्रमा पठाउने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए । निर्वाचनमा बढीभन्दा बढी मतदातालाई मतदान कार्यमा सहभागी गराउने, निर्वाचनमा बदर मतको प्रतिशत घटाउने उद्देश्यले मतदाता शिक्षा अभियान थालिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नवलपरासीमा २०७० सालको संविधानसभाको निर्वाचनमा बदर मतको प्रतिशत ४ दशमलव ५ प्रतिशत थियो भने मतदान कार्यमा भाग नलिने मतदाताको प्रतिशत १८ प्रतिशत रहेको थियो । वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि यसअगावै नवलपरासीका १५ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिसकिएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकामस्थित जिल्ला बालकल्याण समितिको हलमा वैशाख ३ गतेसम्म स्थापना गरी काम थाल्ने र अन्य १५ वटै तहमा आगामी वैशाख १२ गतेसम्म स्थानीय तहमा पुगेर कार्यालय स्थापना गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सात नगरपालिका र आठ गाउँपालिका रहेको नवलपरासीमा कुल तीन लाख ६९ हजार ८९४ मतदाता सङ्ख्या रहेको छ । यस जिल्लामा २३२ मतदानस्थल र ४८७ मतदान केन्द्र रहने छन् ।
जिल्लाभरिका सबै नगरपालिका र गाउँपालिकामा प्रमुख, उपप्रमुख, महिला सदस्य, महिला दलित सदस्य र अल्पसङ्ख्यक गरी करिब एक हजार जनप्रतिनिधिले प्रतिनिधित्व गर्ने भएका छन् । नवलपरासीमा ३२ राजनीतिक दलले दल दर्ता छन् । रासस
प्रकाशित मिति: २८ चैत्र २०७३, सोमबार १६:१५