पोखरा, २८ चैत । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनगइरहेकाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गरेका छन् ।
पश्चिमाञ्चल क्षेत्र अन्तर्गतका आठ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको लागि सुरु भएको निर्वाचन व्यवस्थापन तथा सञ्चालन विषयक क्षेत्रीय प्रशिक्षण आज यहाँ शुभारम्भ गर्दै उनले निर्वाचन राष्ट्रको प्राथमिकतामा परेकाले जिम्मेवारी बोधका साथ आप्mनो दायित्व पूरा गर्नुपर्नेमा जोड दिए ।
“ मत खसाल्न मतदाता आतुर छन् र निर्वाचन आयोग पनि तम्तयार छ “ उनले भने – “ अब कुनै बाहनामा निर्वाचन रोकिदैन, वैशाख ३१ गते एकै चरणमा सबै ठाउँमा निर्वाचन हुन्छ” ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले केही दिनभित्र निर्वाचन सामग्री पनि सबै निर्वाचन कार्यालयमा आइपुग्ने जानकारी गराए ।
कार्यक्रममा पोखरा उच्च अदालतका न्यायाधीश सत्यराज गुरुङ र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले पनि निर्वाचनका विविध विषयमा चर्चा गरेका थिए ।
दुई दिनसम्म चल्ने सो प्रशिक्षणमा मनाङ, लमजुङ, कास्की, तनहूँ, मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत गरी ५५ जनाको सहभागिता छ । रासस
प्रकाशित मिति: २८ चैत्र २०७३, सोमबार १५:४३