काठमाडौँ, २६ चैत । शुक्रबारदेखि बाँकेको नेपालगञ्जस्थित राझा व्यारेकमा सुरु भएको भूतपूर्व सैनिक सम्मेलन (मध्य पश्चिमाञ्चल)को आज आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले समापन गरे ।
नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सो सम्मेलनमा मध्य पश्चिमाञ्चल विकास क्षेत्रका दैलेख, सुर्खेत, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पाका करिब एक हजार भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको उपस्थिति रहेको थियो ।
सम्मेलनका क्रममा नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेस्टमेन्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीलाई चेक हस्तान्तरण तथा सर्वाेत्कृष्ट व्यवसायीलाई प्रशंसापत्र एवम् पुरस्कार वितरण गरिएको थियो ।
सम्मेलनका क्रममा अशक्त भूतपूर्व सैनिक, उनीहरूका अशक्त परिवार र अशक्त गैर सैनिकलाई ह्विलचियर वितरण तथा मध्य पश्चिम क्षेत्रको ज्येष्ठ भूतपूर्व सैनिक एवम् निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकका परिवारमध्ये ज्येष्ठ महिलालाई अभिनन्दनसमेत गरिएको थियो ।
सम्मेलनकै क्रममा मध्यपश्चिम पृतनाअन्तर्गतका युनिटले स्थानीय परम्परा झल्कने झाँकी, खुकुरी ड्रिल तथा पिटी प्रदर्शन गर्नुको साथै नेपाली सेनाको सैनिक व्याण्डले आफ्नो कलासमेत प्रदर्शन गरेका थिए । सम्मेलनको समापन गर्दै प्रधानसेनापति क्षत्रीले राज्य सङ्कटमा पर्दा विगतमा नेपाली सेनाले बगाएको रगत पसिनाको कारण देशको राष्ट्रिय अखण्डतामा आँच नआएको बताए ।
उनले संस्थागत मूल्य र मान्यतालाई जिवन्त राख्न भूतपूर्व सैनिकले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । कार्यक्रममा बोर्डका कार्यकारी अधिकृत पूर्वरथीद्वय चित्रबहादुर गुरुङ र नेपाल भूषण चन्दलगायत उच्च अधिकृतको सहभागिता रहेको थियो । रासस
प्रकाशित मिति: २६ चैत्र २०७३, शनिबार १९:००