पोखरा, २६ चैत । सहरी विकास राज्यमन्त्री मिठु मल्लले स्थानीय तहको निर्वाचनलाई महिलामैत्री र महिलामय बनाउनुपर्ने आवश्यकतामाथि जोड दिएका छन् ।
मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी डा मणिभद्र मुनिजी महाराजको ५० औं स्वर्णजन्मोत्सवको अवसरमा मानव मिलन नारी जागरण नेपाल कास्कीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले १९ वर्षपछि वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई महिलामैत्री बनाउनुपर्नेमा जोड दिएका हुन् ।
राज्यमन्त्री मल्लले अहिलेका महिला पढेलेखेका सक्षम छन्, त्यसैले नगरप्रमुख तथा गाउँपालिकाको अध्यक्ष पदमा नै उम्मेदवारी दिन महिलालाई आग्रह गर्दै “महिलालाई नेतृत्व सुम्पन पुरुषहरुले पनि खबरदारी गर्नुपर्ने र महिलाको उम्मेदवारी रहेछ भनेर पुरुष कसैले पनि क्रस मत नगर्नु होला भने ।”
उनले नेपाली केशरी डा मणिभद्र मुनिजी महाराजको सुस्वास्थ्य र दीर्घायुको कामना गरे ।
नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले पैैसाले धर्म र संस्कृति किन्ने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै नेपाल र भारतबीचको सदियौंदेखिको सुमधुर सम्बन्ध अझ सुदृढ हँुदै जाने विश्वास व्यक्त गरे ।
नेपाल केशरी डा मणिभद्र मुनिजी महाराजले सबैको बानी व्यहोरा राम्रो हुनुपर्ने बताए ।
मानव मिलन नारी जागरण नेपालका जिल्ला अध्यक्ष पार्वती पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, संस्थाकी कोषाध्यक्ष सावित्री शर्मा, लक्की कार्की, दिवाकर बास्तोला, मास्टर थापा, अर्जुनप्रसाद बास्तोलालगायतले धर्म र संस्कृतिका विविध पक्षमाथि प्रकाश पारे ।
डा मणिभद्र मुनिजीको स्वर्णजन्मोत्सव मनाउन भारतको दिल्ली, मेरठ, कानपुर, सोनीपथ, जयपुर, महाराष्ट्र, पुना र मुम्बईबाट झन्डै ३५० जना अनुयायी, संस्थाका सदस्य र हिन्दू धर्मालम्बी पोखरा आएका छन् । रासस
प्रकाशित मिति: २६ चैत्र २०७३, शनिबार १७:०१