काठमाडौँ, २६ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सबैले स्वामित्व ग्रहण गर्ने निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।
निर्वाचन आयोगद्वारा ललितपुरको गोदावरीमा आज आयोजित ‘निर्वाचन व्यवस्थापन तथा सञ्चालन’ विषयको दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम समापन समारोहमा उनले निर्वाचनको सम्पूर्ण तयारी गरेर अघि बढिरहेको अवस्थामा मुलुकका सबै क्षेत्रमा निर्वाचनमैत्री वातावरण बनाउन सरकारसग अनुरोध गरे ।
“निर्वाचनका सम्वन्धमा मुलुकका केही भागमा उठिरहेको समस्याको सम्बोधन होस् भनेर आयोगबाट प्रयास भइरहेको छ”, उनले भने, “निर्वाचनको सिलसिलामा स्थानविशेषमा सुरक्षा चुनौती फरक हुने भएकाले त्यसमा आवश्यक ध्यान पु¥याउन सरकारको ध्यान जाओस्” डा यादवले भने । मतदाता, उम्मेदवार र निर्वाचनमा खटिएका सबै राष्ट्रसेवकलाई ढुक्क भएर निर्वाचनसम्बन्धी महाअभियानको कर्तव्य पूरा गर्न उहाँले आह्वान गरे ।
आयुक्त सुधिरकुमार शाहले मतदाता, उम्मेदवार, दलका नेता, मतपत्रको मात्र नभएर जनतालाई सुरक्षाको मनोवैज्ञानिक वातावरणको सुनिश्चिता हुने गरी सुरक्षा प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उनले भने, “आगामी स्थानीय तहको निर्वाचन सबै नेपाल र नेपालीको परीक्षणको घडी हो । मतदाता र सबै उम्मेदवारलाई मनोवैज्ञानिक रुपमा सुरक्षाको प्रत्याभूति हुन सके सुरक्षा व्यवस्थापनको परिणाम सुखदायी हुने छ ।”
प्रशिक्षक प्रशिक्षण तालिमका सहभागीका तर्फबाट नायब महान्यायाधिवक्ता किरण पौडेल र सहसचिव लीलादेवी गर्तौलाले सामान्य मतदाताका लागि एउटै मतपत्रमार्फत सात जनालाई चुन्नुपर्ने दायित्व निकै चूनौतीपूर्ण भएकाले मतदाता शिक्षालाई प्रत्येक मतदाताको ढोका ढोकामा घनीभूत ढङ्गले पुर्याउनुपर्नेमा जोड दिए ।
आगामी निर्वाचनका सन्दर्भमा आयोगले सञ्चालन गरेको सबैभन्दा उच्च तहको उक्त प्रशिक्षणमा सहभागी ४२ जनाले मुलुकका सात स्थानमा गएर स्थानीय तहको निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा खटिएका सात सय ४४ जनालाई तालिम दिनुपर्नेछ ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षण यही चैत २८ देखि ३० गतेसम्म समूहगत रुपमा सञ्चालन हुने छ । आयोगले आगामी स्थानीय निर्वाचनलाई केन्द्रित गरेर मुलुकका प्रत्येक मतदान केन्द्रमा कम्तीमा एक जनाका हिसाबले २१ हजार मतदाता शिक्षा स्वयंसेवी खटाउने छ । रासस
प्रकाशित मिति: २६ चैत्र २०७३, शनिबार ०६:५१