सुर्खेत, २५ चैत । नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको १७ औं वार्षिक साधारणसभामा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष शरदकुमार गौचनले निर्माण व्यवसायीहरुकै अस्वस्थ प्रतिस्पर्धाले पेशा मर्यादित हुन नसकेको बताएका छन् । उनले काममा गुणस्तरीयता आउन नसक्दा पनि समस्या भएको बताए ।
सवैभन्दा न्यून रकम हाल्नेलाई टेण्डर दिने सरकारको नीतिले व्यवसायीहरु समस्यामा परेको भन्दै उनले क्षमता र दक्षताका आधारमा काम दिनुपर्ने सुझाव दिए। राम्रो काम गर्नेलाई पुरस्कृत र काम गर्नेलाई दण्ड गर्ने प्रावधान नहुँदा पनि निर्माण व्यवसायी पेशा सम्मानित हुन नसकेको उनको भनाइ थियो ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रुद्रप्रसाद शर्माले घटेर टेण्डर हाल्नु नै विकास र प्रगतिको बाधक भएको बताए । महासंघका कोषाध्यक्ष रोशन दाहालले निर्माण व्यवसायीहरुले कुनै काममा टेण्डर हाल्दा घटेर होइन थपेर हाल्न आग्रह गरे ।
व्यवसायी एवं सुर्खेत उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष डा. सूर्यबहादुर खड्काले काम र अवसर थुप्रै भएपनि पेशा मर्यादित हुन नसकेको बताए ।
नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका अध्यक्ष यामबहादुर विसीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस सभापति कमलराज रेग्मी, एमाले उपाध्यक्ष अमृत विसी, राप्रपा अध्यक्ष मानबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका विष्णु शर्मा, महासंघका पूर्व केन्द्रीय सदस्यहरु खगेन्द्र पोख्रेल, पूर्णबहादुर बस्नेत, क्षेत्रीय अध्यक्ष मोहनप्रकाश आचार्य, पूर्व अध्यक्ष डम्बरबहादुर बस्नेत, सुर्खेत उद्योग बाणिज्यका कोषाध्यक्ष दिपेन्द्र ढकाल, हेभी इक्विपमेन्टका अध्यक्ष मदन खड्का, समाजका निवर्तमान अध्यक्ष जनक रावललगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा महासचिव हर्षविक्रम खड्काले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा निर्माण व्यवसायको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण व्यवसायीको छवि बनाउन सफल सुर्खेतका व्यवसायी डा. सूर्यबहादुर खड्कालाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति: २५ चैत्र २०७३, शुक्रबार १८:०२