रामपुर (पाल्पा), २३ चैत । बाह्य पर्यटकलाई लक्षित गरेर रामपुरमा सञ्चालित होटल व्यवसायी पर्यटक नआउँदा निराश बनेका छन् ।
कालीगण्डकी बेसीकै उपत्यका रामपुरबजारमा करोडौँ रुपैयाँको लगानीमा बाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरिएका छन् । ठूलो धनराशि खर्च गरेका व्यवसायी बाह्य पर्यटक नभित्रँदा मारमा परेका छन् । रामपुरको बेझाडबजारमा मात्रै रु तीन करोडभन्दा बढीको लगानीमा दर्ता भएका ६४ र अन्य गरी करिब ७० वटा होटल सञ्चालनमा रहेका छन् ।
रामपुर उपत्यकाको पर्यटन क्षेत्रले गति लिन नसक्दा सोचेअनुसारको व्यापार गर्न नसकिरहेको व्यवसायी बताउँछन् । यस क्षेत्रमा सबैभन्दा बढी लगानीमा सञ्चालित होटल न्यू श्रीनगर हो । बाह्य पर्यटकलाई लक्षित गरेर सो होटल सञ्चालन गरिएको हो । तर रामपुर क्षेत्रमा पर्यटक नै नभित्रँदा व्यवसाय धरापमा परेको सञ्चालक एवम् होटल व्यवसायी सङ्घका अध्यक्ष महेन्द्र श्रेष्ठ बताउछन् ।
उनी भन्छन्, “ठूलो लगानीमा बाह्य पर्यटकलाई लक्षित गरेर व्यवसाय चलाइयो, रामपुर उपत्यकाको भौतिक पूर्वाधारको विकास नहुँदा लगानीअनुसारको आम्दानी छैन ।”
श्रेष्ठले चार सय जनाको क्षमता भएको सेमिनार हल, दुईवटा साना हल, पार्किङस्थल, २६ कोठासहितको होटल रु ६ करोडको लगानीमा सञ्चालन गरेका हुन् । उनले यस व्यवसायबाट स्थानीय आठजना कामदारलाई समेत रोजगार दिएका छन् ।
रामपुर उपत्यकामा सञ्चालित यस होटलले पर्यटन क्षेत्रमा ठूलो इँट्टा थपे पनि यहाँसम्म आउने सडक विस्तार, यहाँको पर्यटन क्षेत्रले फड्को मार्न नसक्दा व्यवसाय नै धरापमा परेको छ ।
विगत १६ वर्षदेखि रामपुरको बेझाडबजारमा होटल व्यवसाय गर्दैआएका पुननारायण श्रेष्ठ पनि आन्तरिक पर्यटक भित्रिए पनि बाह्य पर्यटकको आवागमन पर्याप्त रुपमा हुन नसक्दा सोचेअनुसार व्यापार फस्टाउन नसकेको बताउछन् । उनले विदेशी पर्यटकलाई लक्षित गरेर २२ कोठासहितको सुविधासम्पन्न होटल सञ्चालन गरेका छन् ।
बेझाडबजारमा न्यू श्रीनगर, पूजा, सपना, ओरेन्ज, गोदावरीलगायत होटल बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएका छन् । रामपुर उपत्यकाको भौतिक पूर्वाधार विकास अभावमा यस क्षेत्रका होटल व्यवसायीले लगानी गरेबमोजिम ग्राहक बढाउन नसकेका होटल व्यवसायी सङ्घका पूर्वअध्यक्ष सूर्यप्रसाद श्रेष्ठ बताउछन् ।
सदरमुकाम तानसेनदेखि रामपुरबजारसम्मको सडक विस्तार, रामपुरमा रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल, रामले नुहाएको रामघाट, सीताले रजस्वला हुँदा नुहाएको सीताकुण्ड, सिद्धबाबा मन्दिर, टापुधाम मन्दिर, तालपोखरा, राममन्दिरलगायत क्षेत्रको भौतिक पूर्वाधार विकास तथा प्रचार प्रसार गर्न सके यहाँ दिनहुँ बाह्य पर्यटक भित्रिने होटल व्यवसायी बताउँछन् । पूर्वाधारको विकास गर्न सके यहाँ सञ्चालित होटलमा पर्यटकको चहलपहल बढ्नेमा व्यवसायी आशावादी छन् ।
व्यापार मेलामा पन्ध्र लाख नाफा
पाल्पाको रामपुरमा पहिलोपटक सञ्चालन भएको प्रथम रामपुर महोत्सव तथा व्यापार मेलामा रु १५ लाख १६ हजार नाफा भएको छ ।
रामपुर उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा गत पुस २७ गतेदेखि माघ ८ गतेसम्म सो व्यापार मेला सञ्चालन भएको थियो । सङ्घका कोषाध्यक्ष राजेन्द्रप्रसाद देवकोटाले रु ७८ लाख ७४ हजार दुई सय ३० आम्दानी र रु ६३ लाख ५७ हजार सात सय ६८ बराबरको खर्च भएको जानकारी दिए ।
सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले मेलाबाट भएको आम्दानीमध्ये १० प्रतिशत रकम रामपुर नगरपालिकाको समन्वयमा पर्यटन क्षेत्रमा लगानी गरिने बताए । रासस
प्रकाशित मिति: २३ चैत्र २०७३, बुधबार १७:०९