मुस्ताङ, २० चैत । बाह्र गाउँ मुक्ति क्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा विभिन्न सरकारी कार्यालयको सहभागितामा सम्पन्न शिविरबाट त्यस क्षेत्रका ५५९ जनाले सेवा लिएका छन् । घुम्ती शिविरमा जिल्ला प्रशासन कार्यालय, नापी, कृषि पशु सेवा कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, सिँचाइ विकास सवडिभिजन, महिला तथा बालबालिका, जिल्ला स्वास्थ्य, जिल्ला शिक्षा कार्यालयलगायतले आफ्नो सेवा प्रवाह गरेका थिए ।
शिविरमा १५ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गरिएको प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले जानकारी दिए । उनका अनुसार, जिल्ला कृषि विकास कार्यालयबाट ११० जना किसानलाई बीउ र विषादी, पशुसेवा कार्यालयले ११४ जना किसानलाई २०४ वटा गाई, दुई हजार ५५६ बाख्रा र ३६ वटा गाईलाई पुग्ने औषधि वितरण गरिएको थियो ।
त्यस्तै नापी कार्यालयबाट १० जना, त्यस्तै महिला तथा बालबालिका कार्यालयले ३७ जना पुरुष र ३७ जना महिलालाई ज्येष्ठ नागरिक परिचयपत्र, जिल्ला स्वास्थ्य कार्यालयले २३९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
हरेक वर्ष विभिन्न स्थानमा घुम्ती शिविर सञ्चालन गर्ने प्रशासनले यस वर्ष कागबेनीलाई रोजेको प्रजिअ पोखरेलले जानकारी दिए । “नागरिकतादेखि अधिकांश सरकारी सेवा गाउँमै पाएपछि सर्वसाधारण खुसी र उत्साहित भएका थिए । रासस
प्रकाशित मिति: २० चैत्र २०७३, आईतवार १०:४०