कञ्चनपुर, १८ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का २६ वर्षीय भागीराम चौधरी अपाङ्ग भए पनि सपाङ्ग व्यक्तिसरह कार्य गरेर परिवारको खर्च धान्दै आएका छन् ।
विद्युतीय सामग्री मर्मत गर्ने तालिम लिएका उनले दैनिक रु एक हजार बढी कमाइ गर्दै आएका छन् । बाल्यकालदेखि नै पक्षघातका कारण उनको कम्मरमुनिको भाग नचल्ने भएकाले परिवारका सदस्यले पसल खोली दिने र बन्द गर्ने कार्यमा सघाउने गरेका छन् ।
पसलमा बसेर चौधरीले ग्राहकका मोटरमा क्वाइल भर्ने, पङ्खा मर्मत गर्ने, रन्दा, हिटिङ मेसिन, गिजर, ड्रिल मेसिन र कटर मेसिन मर्मतको कार्य सहज तरिकाले गर्दै आएका छन् ।
इमान्दारीपूर्वक ग्राहकले मर्मतका लागि ल्याएका विद्युतीय मेसिन मर्मत गरी तोकिएकै समयमा दिने भएकाले ग्राहकको मन जित्न उनी सफल भएका छन् । विद्युतीय सामग्री मर्मत गर्ने तालिम नलिएको भए घरभित्रकै खटिमा रहने थिए भागीरामले भने, “तालिम लिएर काम गर्न थालेपछि परिवारको दैनिक खर्च धान्दै आएको छु ।”
मुक्तकमैया परिवारका उनले आठ जनाको परिवारका लागि आवश्यक पर्ने खाद्य सामग्री, लत्ताकपडा र विद्युत् महसुलको लागि कमाइको पैसा खर्चिदै आएका छन् ।
सपाङ्ग रहेका अरु छोराले दैनिक मजदुरी गरेर रु ३०० जति कमाइ गर्छन् भागीरामका बुबा धनिराम चौधरीले भने, “तर माइलो भागीराम अपाङ्ग भए पनि सबैभन्दा बढी कमाइ गर्न सक्षम छ ।”
छोरा अपाङ्ग भएकाले बूढेसकालसम्म जेनतेन खर्च गरी स्याहारसुसार गरौँला त्यसपछिको भविष्य के होला भनेर चिन्तित थियौँ धनीरामले भने, “अपाङ्ग भए पनि छोराले स्वरोजगार भएर सपाङ्गभन्दा बढी कमाइ गरेर परिवार पाल्न थालेपछि सबै चिन्ता हटेर गएको छ ।”
तालिमपश्चात् झलारी बजारमा अन्य व्यक्तिको पसलमा काम गरी कमाएको रु ७० हजार खर्चेर भागीरामले आफ्नै पसल सञ्चालन गरेका हुन् । उनको पसलमा दैनिक ग्राहको भीड लाग्ने गरेको छ ।
सधैँ बेफुसर्दिलो हुने भागीरामले कमाएमध्ये बचत गरेको रु ८० हजार उसकै बिहेका लागि खर्च गर्ने योजना बनाइएको आमा गुलियादेवी चौधरीले बताइन् ।
काम गरी खाने भएपछि बिहेका लागि धेरै प्रस्ताव आएका छन् उनले भनिन्, “घर सुहाउने बुहारी छनोटमा लागेका छौँ ।” भागीराम भन्छन, “अपाङ्ग छ भन्दैमा समाजबाट अपहेलित भएर बस्नु पर्दैन, सक्दो सिप सिकेर समाजका लागि प्रेरणाको स्रोत बनेर देखाउनु पर्छ ।” रासस
प्रकाशित मिति: १८ चैत्र २०७३, शुक्रबार १३:०७