एजेन्सी १८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्कालाई ह्वाइट हाउसमा अर्को पनि जिम्मेवारी दिने तयारी गरिएको छ । ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको प्रशासनमा बेतलबी कर्मचारीका रुपमा राष्ट्रपतिको सहायकको जिम्मेवारी दिन लागिएको जनाएको छ ।
ह्वाइट हाउसमा उनलाई यसअघि नै बेग्लै कार्यालय उपलब्ध गराइएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाई जेर्ड कुश्नरलाई ओबामाले यसअघि नै आफ्नो सल्लाहकारमा नियुक्त गरेका थिए । सहायक सल्लाहकार नियुक्त हुने भएपछि ३५ वर्षीय इभान्काले भनेकी छन्, ‘मेरो व्यक्तिगत क्षमताले राष्ट्रपतिलाई सल्लाह दिने विषयमा चिन्ता छ ।’
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इभान्कालाई फस्ट डटर हुनुका बाबजुद यो नयाँ जिम्मेवारीमा चयन गर्न पाउँदा खुसी लागेको छ ।’ उनले नयाँ जिम्मेवारीका लागि पनि ह्वाइट हाउसबाट तलब सुविधा भने लिने छैनन् । यो औपचारिक जिम्मेवारी दिनु अगावै गत साता नै उनलाई ह्वाइट हाउसमा कार्यालय नै स्थापना गरिएपछि त्यसबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त भएको थियो । ट्रम्पको कदम नैतिक रुपमा ठीक नभएको भन्दै आलोचना समेत भइरहेको छ ।
पूर्वराष्ट्रपति बाराक ओबामा नीति काउन्सलर नम्र्यान इसेनले भनेका छन्, ‘यो निर्णले ह्वाइट हाउसको नैतिकतालाई ठूलो क्षति पु¥याएको छ । यो विवेकको पृथक नयाँ क्षण होइन ।’ इसेन अमेरिकी प्रशासनका पछिल्ला गतिविधिलाई नजिकैबाट नियालेका थोरै वकिलमध्ये एक हुन् । राष्ट्रपति कार्यालयमा सहायक सल्लाकारको भूमिका निभाउन लागेकी उनी ट्रम्प टावरको एक प्रमुख हिस्सेदार हुन् ।
ट्रम्पलाई झट्का
यसैबीच अमेरिकाको हवाईको एक अदालतले राष्ट्रपति ट्रम्पको ६ मुस्लिम बहुल देशका नागरिकमाथि लगाएको यात्रा प्रतिबन्धलाई अनिश्चितकालका लागि रोक लगाइदिएको छ । न्यायधीस डेरिक वाट्सनको यो फैसलाअनुसार अब उनले आफ्नो निर्णय लागु गर्न पाउने छैनन् । हवाई राष्ट्रपति ट्रम्पको मुस्लिम समुदायमाथि प्रतिबन्ध रोक्ने कोशिस गरिरहेको एक राज्य हो ।
सुनुवाईका क्रममा अदालतले यो प्रतिबन्ध मुसलमानमाथिको भेदभाव भएको र यसको असर पर्यटन र विदेशी विद्यार्थी तथा कामदारमाथि गर्ने उल्लेख गरेको छ । राष्ट्रपति ट्रम्पले भने नयाँ प्रतिबन्धले चरमपन्थीलाई अमेरिका आउन रोक लाग्ने दाबी गर्दै आएका छन् ।
हवाईका महान्यायधीवक्ता र अमेरिकी न्याय विभागको भनाई सुनेपछि न्यायधीस डेरिक वाट्सनले बुधबारराति यो फैसला सुनाएका हुन् । ६ मार्चमा जारी राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशअनसार इरान, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकमाथि ९० दिनको र सबै देशका शरणार्थीमाथि १२० दिनको प्रतिबन्ध लगाइएको छ ।
उनले यसै वर्षको जनवरी अन्तिम साता ७ वटा मुस्लिम देशका नागरिकमाथि प्रतिबन्ध लगाएपनि त्यसको चर्को आलोचनापछि यसै महिनाको सुरुमा केही नरम प्रावधानसहितको नयाँ कार्यकारी आदेश जारी गरेका थिए । जनताले समेत यसको विरोध गरेपछि सिएटल अदालतले यसमाथि रोक लगाएको थियो ।
हवाईको यो फैसलाविरुद्ध नाइन्थ कोर्ट अफ अपिलमा मुद्दा पर्ने सम्भावना रहेको जनाइएको छ । यसै अदालतले सिएटलको अदालतको फैसलामाथि रोक लगाउन इन्कार गरेको थियो । राष्ट्रपतिको पहिलो कार्यकारी आदेशमा इराकको समेत नाम थियो ।
तर अधिकारीहरुले इराकी सरकारले भिसाको छानविन बढाउनका साथै व्यापक विरोध गरेपछि इराकको नाम हटाइएको थियो । ट्रम्पको पुरानो आदेश तत्लका लागु गरिएपछि विमानस्थलमा व्यापक समस्या आउनुका साथै अमेरिकी ग्रिनकार्ड भएकालाई समेत रोक लगाइएको थियो । नयाँ आदेशमा भने यसलाई हटाएर भिसा लागिसकेका र ग्रिनकार्ड भएकालाई अमेरिका प्रवेश गर्न दिइने उल्लेख छ ।
प्रकाशित मिति: १८ चैत्र २०७३, शुक्रबार ०६:१२