सबैभन्दा ठूलो जिल्ला डोल्पामा लामा पढाइमा मुगाली विद्यार्थीको आकर्षण बढेको छ । यहाँ बोन सम्प्रदायसँग सम्बन्धित लामा पढाइ हुने विद्यालय सञ्चालनमा छ । बुद्ध धर्म र लामा भनेपछि सबैले एकै भन्ने बुझ्छन् । यहाँ भने विभिन्न सम्प्रदायका बौद्धधर्मावलम्बीहरु बस्ने गरेका छन् । बोन, ङिङमा, कग्यु, शाक्या र गेलुक सम्प्रदायको बसोबास छ । फरक सम्प्रदायका व्यक्तिले फरक–फरक लामासँग पढाउने गर्छन् । डोल्पामा भने बोन सम्प्रदायसँग सम्बन्धित लामा पढाइ भइरहेको छ । बोन विद्यालयमा दर्शन शास्त्र, ज्योतिष शास्त्र, मनन शास्त्रलगायत विषय पढाइ हुन्छन् । लामा आधारभूत शिक्षा ५ वर्षसम्म जिल्लामै पढाइन्छ । उच्च अध्ययनका लागि काठमाडौं र भारतका विभिन्न ठाउँमा पठाइन्छ । लामा अध्ययन गर्न ८ देखि १० वर्ष लाग्ने बोन विद्यालयका प्रधानाध्यापक सेराप रोकायाले बताए । उनले भने, ‘लामा अध्ययनका लागि सबै खर्च विद्यालयले नै गर्छ । उच्च शिक्षा अध्ययन गर्न काठमाडौं र भारत गएका विद्यार्थीलाई समेत विद्यालयले नै खर्च गर्छ ।’
लामा अध्ययन गर्ने विद्यार्थीले उच्च शिक्षा हासिल गरिसकेपछि डाक्टर अफ बोन बुद्धिष्ट फिलोसफीको उपाधिले सम्मान गरिन्छ । डोल्पो बन समाज संघबाट सञ्चालित विद्यालयले ५ कक्षासम्म पढाउँछ । विद्यालयमा १७ छात्र, १५ छात्रा गरी ३२ जना अध्ययनरत छन् । डोल्पाका छार्का, धो, तिन्जे, फोक्सुन्डो, साल्दाङ, भिजेर, बैजिवाडा, करेलीकाँडा, काईगाउँ, हुरिकोट, सर्मी, ओक्ट, होर्त र खानी गाउँका आर्थिक रुपमा विपन्न र लामा पढ्न चाहने विद्यार्थीका लागि विद्यालय सञ्चालनमा ल्याएको रोकायाले बताए । आवासीय रुपमा सञ्चालित विद्यालयले विद्यार्थीलाई भर्ना बापत् ५ हजार रुपैयाँ लिने र वर्षमा ७० केजी अनाज शुल्कका रुपमा लिन्छ । विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री, लत्ताकपडा विद्यालयले नै व्यवस्था गर्छ । विद्यालय सञ्चालनमा वार्षिक १५ लाख रुपैयाँ लाग्छ । यी सबै खर्च डोल्पाकै लामा गुरुले बेहोर्दै आएका छन् । लामा गुरु रोकाया अहिले मेक्सिको बस्छन् । उनले आफ्नै निजी खर्चमा विद्यालय सञ्चालन गरी शिक्षा दिनमा ठूलो सहयोग गरेको अभिभावक हर्कबहादुर रोकायाले बताए । उनले भने, ‘हाम्रा बालबालिकालाई हामीले पठाउन सक्ने अवस्था थिएन तर गुरु लामाले गाउँमै विद्यालय खोलेर सबै निःशुल्क गरेपछि सहज भएको छ ।’
विद्यालयमा पठनपाठनका लागि ५ शिक्षक–शिक्षिका छन् । विद्यालय सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालयले सामान्य सहयोग मात्रै गरेको छ । विद्यार्थीको अन्य पढाइ, आवास खर्चदेखि सञ्चालनसम्मको खर्च घेसे निमा कुन्क्याप रिन्पोचेले गरेको बोन सेवा समाजका सह–सचिव सेराप रोकायाले बताए । उनले भने, ‘प्रतिविद्यार्थी वार्षिक १ लाख रुपैयाँसम्म खर्च हुन्छ । त्यो सबै रिन्पोचेले आफ्नो कमाइबाट बेहोर्दै आउनुभएको छ ।’
सन् २००९ देखि सञ्चालमा आएको डोल्पो बोन विद्यालयमा सबै जातिका विद्यार्थीले लामा पढ्न पाउने व्यवस्था छ । विद्यालयमा अहिले रोकाया, बुढा, थापा, बोहोरा, ठकुल्ला, विष्ट चोचा, महताराका छोराछोरी अध्ययन गर्ने शिक्षक युङटुङ रोकाले जानकारी दिए ।
शान्त वातावरणमा फराकिलो खेल मैदान र विद्यार्थीलाई पढ्न, बस्न र खाना खाने फरक–फरक भवन रहेकाले कुनै समस्या नरहेको विद्यार्थी लोटोई बुढा बताउँछन् । उनले भने, ‘हामीले रमाइरमाइ पढ्न पाएका छौं ।’ विद्यालयमा अहिले कुनै पनि सुविधाको अभाव नभए पनि पानीको भने ठूलो अभाव छ । पानी समस्या समाधानका लागि विभिन्न निकायमा सहयोगका लागि आग्रहसमेत गरेको उनले बताए ।
टोटल राष्ट्रिय मासिकबाट
https://www.khabarera.com/total/archives/2696
प्रकाशित मिति: १७ चैत्र २०७३, बिहीबार ११:५०