काठमाडौँ, १७ चैत । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल¬–चीन सम्बन्ध अद्वितीय रहेको चर्चा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले पारस्परिक सम्बन्धलाई नयाँ उचाई दिएको बताएका छन् ।
चीनको सछुवान प्रान्त र यहाँस्थित चिनियाँ दूतावासले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल–सछुवान पाक कला सांस्कृतिक सप्ताह’मा उनले उक्त कुरा बताएका हुन् । “भूगोललेमात्र नेपाल र चीनलाई जोडेको छैन, संस्कृतिले दुवै देशलाई अझ सुदृढ बनाएको छ¬”¬–उपप्रधानमन्त्री महराले भने ।
नेपालका लागि चीनका राजदूत यू होङले एकअर्काबीच राजनीतिक विश्वास, प्रवद्र्धन, पारस्परिक समर्थन, द्विपक्षीय लाभ र सहयोग चीन र नेपाल सम्बन्धका प्रमुख आधार भएको बताए ।
स्वतन्त्र व्यापार, ‘एक क्षेत्र एक मार्ग’, कृषि, ऊर्जालगायतका क्षेत्रमा चीन र नेपालको सहकार्य निरन्तर रहेको बताउँदै उहाँले भविश्यमा पारस्परिक सम्बन्ध अझ मजबुद हुने विश्वास व्यक्त गरे ।
संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन (युनेस्को)बाट पाक कलाको उपाधि पाउने एसियाको पहिलो सहर चीनको छन्दु हो । उक्त सहर सछुवान प्रान्तको राजधानी पनि हो । रासस
प्रकाशित मिति: १७ चैत्र २०७३, बिहीबार ०७:४८