सुर्खेत, १५ चैत । वीरेन्द्रनगर नगरपालिका ८ का मायाप्रसाद जैसी २० वर्ष पछि हुन लागेको स्थानीय निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन् । उम्मेदवारी तयारी कै क्रममा मायाप्रसाद मंगलबार जिल्ला निर्वाचनको कार्यालय इत्राममा पुगे र उनले आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनि जाँच गरे ।
४६ वर्षे दृष्ट्रिविहिन मायाप्रसाद यसअघिको निर्वाचनमा २६ वर्षका मात्रै थिए । आफ्नो मतदाता नामावली भए नभए बारे स्पष्ट हुन निर्वाचन कार्यालयमै पुगेका उनले स्थानीय निर्वाचनमा बडाअध्यक्षको पदमा उम्मेदवारी दिने तयारी गरेको बताए ।
छोरा र श्रीमति सहित निर्वाचन कार्यालयको भर्याङमा चड्दै गरेका दृष्ट्रिविहिन मायाप्रसादले भने, ‘यसपटक त वडामा उम्मेदवारी दिने तयारी गरेको छु, त्यसैले मतदाता नामावलीमा नाम छ कि छैन भनि हेर्न आएको छु ।’
समाजवादी जनता दलबाट वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ८ बाट वडा अध्यक्षको पदमा उम्मेदवारी दिने तयारी गरेको बताउने दृष्ट्रिविहिन मायाप्रसाद ख वर्गका कार्ड पाएका व्यक्ति हुन् । क वर्गको कार्ड पाएकाले राजनीति गर्न नमिल्ने तर ख, ग र घ वर्गको कार्ड पाएकाले राजनीति गर्न मिल्ने भएकाले आफुले वडाअध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको उनले बताए ।
निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि मनोनयको मिति तोकेको करिब एक महिना बाँकी रहेको अवस्थामा निर्वाचन कार्यालयमै पुगेर आफ्नो मतदाता नामावली भए नभएको जानकारी लिन पुगेका मायाप्रसाद मतदाता नामावलीमा आफ्नो नाम भएको जानकारी पाएपछि ढुक्क हुँदै भने, ‘निर्वाचनमा उम्मेदवारी दिने बाटो खुल्यो ।’
उम्मेदवारीको तयारीमा रहेका मायाप्रसाद मात्र होइन, ठाउँ सारी गरेको नाम आएको वा नआएको बुझ्ने सर्वसाधारण निर्वाचन कार्यालयमा पुग्ने गरेका छन् ।
त्यति मात्र होइन, प्रमुख राजनीति दल कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा लगायतका राजनीतिक दल टोलटोलमा पुगेर आफ्नो पक्षमा लविङ गर्न थालेका छन् भने दल भित्रपनि आन्तरिक रुपमा उम्मेदवारीका बारेमा पनि लविङ थालेका छन् । जसका कारण सुनसान देखिने पार्टी कार्यालयमा आजभोली भिड लाग्ने थालेको छ भने निर्वाचनको सरगर्मी पनि बढ्न थालेको छ ।
बीस वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा सुर्खेतका करिब १ लाख ८५ हजार बढी मतदाताले भाग लिने भएका छन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार सुर्खेतका पाँच वटा नगरपालिका र ४ वटा गाउँपालिकामा ९५ हजार ७ सय ३० महिला, ८९ हजार ७ सय ९१ पुरुष र १ तेस्रो लिङगी गरी १ लाख ८५ हजार ५ सय २२ मतदाता रहेका छन् । अन्तिम मतदाता नामावली आउन बाँकी रहेको हुनाले यो संख्या केही थप हुन सक्ने निर्वाचन कार्यालयले जनाएको छ ।
नयाँ सिमांकन अनुसारको वीरेन्द्रनगर नगरपालिकामा ५० हजार ७ सय ९९ मतदाता
भेरीगंगामा २३ हजार ३ सय ७३ मतदाता
गुर्वाकोट नगरपालिकामा २५ हजार ९ सय ६८ मतदाता
पञ्चपुरी नगरपालिकामा १७ हजार ३ सय ७४ मतदाता
लेकवेशी नगरपालिकामा १७ हजार ४ सय ८ मतदाता
चौकुने गाउँपालिकामा १२ हजार ६ सय २६ मतदाता
बराहताल गाउँपालिकामा १३ हजार ८ सय ६० मतदाता

चिङगाड गाउँपालिकामा ९ हजार ६ सय ३ र सिम्ता गाउँपालिकामा १४ हजार ८ सय ११ मतदाता रहेका छन् ।
प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलवार १६:००