काठमाडौं, १४ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट गठन भएको केन्द्रीय कार्य सम्पादन समितिको वरीयतामा चर्काे विवाद देखिएको छ । आइतबारबाट केन्द्रीय कार्यालय सानेपामा सुरु कांग्रेस केन्द्रीय समिति बैठकले पहिलो कार्यसूचीमाथि छलफल गर्दै २९ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति र ४२ विभागको टुंगो लगाएको हो ।
गएको महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएका डा. शेखर कोइरालाले केन्द्रीय कार्य सम्पादन समितिको वरीयतामा आफू नअटाएको भन्दै नअट्नुको कारण माग गरेपछि विवाद सतहमा आएको हो । कोइरालाले चार पेज लामो असहमतिपत्र केन्द्रीय समितिमा बुझाउँदै आफू नअट्नुको कारण माग गरेका हुन् । वरिष्ठता विवाद टुंग्याउन गत कात्तिकमा नेता आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा समिति बनेको थियो । ‘ढुंगाना समितिको प्रतिवेदन नै नआईकन अहिले कसरी वरिष्ठहरूलाई मात्र राखेर समिति गठन गरियो ?’ कोइरालाले पत्रमा भनेका छन्, ‘रामचन्द्र पौडेलभन्दा खुमबहादुर खड्का कसरी कनिष्ठ भए ?’ कांग्रेस र तत्कालीन कांग्रेस प्रजातान्त्रिकबीच पार्टी एकीकरण भएपछि पहिलोपटक कार्य सम्पादन समिति गठन भएको हो ।
सभापति शेरबहादुर देउवाले पेस गरेको कार्य सम्पादन समिति गठन र विभाग गठनको प्रस्ताव आइतबारको केन्द्रीय समिति बैठकले पारित गरेपछि सोबारे टुंगो लागेको हो ।
कांग्रेसको विधानको धारा २९ र ३० मा कार्य सम्पादन समितिको व्यवस्था रहेको छ भने धारा ३७ मा विभिन्न विभागबारे व्यवस्था छ । जसमा केन्द्रीय समितिको बैठक बस्न नसकेको अवस्थामा कार्य सम्पादन समितिको बैठकले काम गर्ने उल्लेख छ ।
विधानतः सभापतिको अध्यक्षतामा कार्य सम्पादन समिति गठन हुने व्यवस्था छ । जसमा उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य रहनेछन् । संसदीय दलको नेता पनि स्वतः समितिको सदस्य हुने व्यवस्था छ । तर, विधानमा व्यवस्था भए पनि उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री भने हालसम्म पनि मनोनीत भएका छैनन् । विधानअनुसार पार्टीको महाधिवेशन सकिएको ६ महिनाभित्र पदाधिकारी चयन गरिसक्नुपर्ने उल्लेख छ ।
को–को परे कार्य सम्पादन समितिमा ?
विधानअनुसार पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा रहने केन्द्रीय कार्य सम्पादन समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ छन् ।
यसैगरी, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, डा. रामशरण महत, अर्जुनरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, फरमुल्ला मन्सुर, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, एनपी साउद छन् ।
यसैगरी, विभागअन्तर्गत संगठन विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, संसदीय विभाग, स्थानीय निकाय विभाग, प्रचार विभाग, महिला विभाग, विद्यार्थी विभाग, तरुण विभाग, दलित विभागलगायतका विभागहरू गठन गरिएको छ ।
प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार ०६:५८