नेपाली र अंग्रेजीसहितका शिक्षा प्रदान गर्नेबाहेक अरु विद्यालय पनि खुलिरहेका छन् । सरकारी मान्यता पाएका यस्ता विद्यालय पाँचथरमा पनि छन् । तर, यी विद्यालयले अन्यसरह सेवा सुविधा भने पाउन सकेका छैनन् । जसकारण विद्यालय संकटउन्मुख बनेका हुन् ।
जोरपोखरीमा रहेको ब्रह्मा योगेश्वर वैदिक विद्यापीठमा विद्यार्थी संख्या घट्दो क्रममा छन् । जिल्लामा ४ धार्मिक विद्यालयले सरकारी मान्यता पाएका छन् । यी विद्यालयमा पूर्वाधार अभाव रहे पनि नियमित कक्षा सञ्चालन भइरहेका छन् । सिद्धेश्वर गायत्रीस्वरुप विवेकानन्द आश्रम संस्कृत पाठशाला फलैचा, बह्मा योगेश्वर वैदिक विद्यापीठ जोरपोखरी, किरात सेङसेन वरक चोत्लुङ मुन्धुम निसम्हिम सिलौटी र नियुङमा च्याङछुप छोलिङ गुम्बा नाङगिनमा धार्मिक शिक्षा अध्यापन हुन्छ । फलैचा र जोरपोखरीमा रहेका विद्यालयमा संस्कृत पढाइ हुन्छ । यस्तै एकतीन गाविस ६ को कुटीडाँडामा पनि संस्कृत पढाइ हुन्छ ।
यता लबे्रेकुटीमा भएको विद्यालयमा किरात धर्मअन्तर्गत मुन्धुम र नाङगिनको विद्यालयमा गुम्बा (बौद्ध) शिक्षा पढाइ हुन्छ । यीमध्ये मुन्धुम र गुम्बा शिक्षाका लागि ०६२/६३ पछि विद्यालय खुलेका हुन् भने संस्कृत यसअघि नै । विद्यालयको पछिल्लो विवरणअनुसार गुम्बा र मुन्धुमका लागि विद्यार्थीको आकर्षण बढ्दो देखिए पनि संस्कृततर्फ विद्यार्थी घट्दै गएका छन् । सिद्धेश्वर गायत्रीस्वरुप विवेकानन्द आश्रम संस्कृत पाठशालामा सबैभन्दा बढी विद्यार्थी छन् । यहाँ ३० विद्यार्थी अध्ययनरत रहेको व्यवस्थापन समिति अध्यक्ष नरप्रसाद अधिकारीले जानकारी दिए । जिल्ला शिक्षा कार्यालयको तथ्यांकमा पनि संस्कृत पढ्ने विद्यार्थी कम छन् । सरकारले गर्ने सहयोग जिशिकामार्फत जाने भए पनि विद्यार्थी संख्याका आधारमा प्रदान गरिने सुविधामा असर पर्ने कार्यालयका शाखा अधिकृत युगमणि सबेहाङले बताए । ‘विद्यार्थी संख्याका आधारमा प्रदान गर्ने पीसीएफमा असर पर्न सक्छ,’ उनले भने ।
कतै टिकाउनै सकस, कतै थाम्नै गाह्रो
संस्कृत व्याकरणको अध्यापन हुने जोरपोखरीको ब्रह्मा योगेश्वर वैदिक विद्यापीठ गुरुकुलमा अध्ययनका लागि विद्यार्थी आउने क्रम घट्दै गएको छ । ५० विद्यार्थीसम्मले अध्ययन गरेको यो गुरुकुलमा अहिले ७ जना मात्र छन् । यहाँ एकैपटक ४० विद्यार्थीले आवासीय रुपमा अध्ययन गर्न सक्ने क्षमता रहेको व्यवस्थापन समिति अध्यक्ष चिदानन्द खतिवडाले जानकारी दिए । यहाँ वर्षभर चिसो हुने हुँदा विद्यार्थी टिकाउनै सकस हुने गुरुकुलको बुझाइ छ । फलैचा ३ को सिद्धेश्वर गायत्रीस्वरुप विवेकानन्द आश्रम संस्कृत पाठशालामा भने विद्यार्थी बढ्दै गएका छन् । आश्रममै खाने–बस्नेसहितको व्यवस्था भएका कारण विद्यार्थी संख्या अघिल्लो वर्षको तुलनामा दोब्बरले बढेको छ ।
शिक्षाले अनुदान मात्रै दिन्छ
जिशिकाले कुनै पनि धार्मिक विद्यालयलाई दरबन्दीका रुपमा सहयोग गर्दैन । शाखा अधिकृत युगमणि भन्छन्, ‘दरबन्दी दिने व्यवस्था छैन । राहतका रुपमा सोहीअनुसारको सहयोग भने दिइरहेका छौं ।’ जिल्लामा सञ्चालित ४ विद्यालयका लागि जिशिकाले अन्य विद्यालयसरहको सेवा दिइरहेको छ । शिक्षक दरबन्दीका विषयमा राज्यले कुनै नीति अख्तियार नगरेका कारण समस्या भएको छ । सञ्चालकहरुले भने दरबन्दी व्यवस्थापन भए भर्खर खुलेका विद्यालयलाई स्थापित गराउन र वर्षौंदेखि चल्दै आएकालाई टिकाउन सहयोग पुग्ने बताउँछन् । धार्मिक विद्यालयमा पनि राज्यको ध्यान जानुपर्ने उनीहरुको माग छ ।
गुम्बा र मुन्धुममा बढे
सिलौटी धार्मिक क्षेत्रमा मुन्धुम शिक्षा अध्यापन हुन थालेको २ वर्ष भयो । किरात सेङसेन वरक चोत्लुङ मुन्धुम निसम्हिम विद्यालयमा अहिले २५ विद्यार्थी मुन्धुम अध्ययन गरिरहेका छन् ।
यो गत वर्षको तुलनामा बढी हो । यति विद्यार्थी संख्यालाई राम्रो मान्न सकिने व्यवस्थापन समिति अध्यक्ष सुवास तुम्बापो बताउँछन् । ‘जति हुनुपर्ने हो, त्यति त छैनन्,’ उनले भने, ‘यसलाई निराशाजनक भन्नचाहिँ मिल्दैन ।’ आगामी वर्षदेखि अंग्रेजी र कम्प्युटरसँगै मुन्धुम पढाइ सञ्चालन गर्ने योजनाका कारण विद्यार्थी थप हुने व्यवस्थापन समितिको विश्वास छ ।
नाङगिनको नियुङमा च्याङछुप छोलिङ गुम्बामा बौद्ध शिक्षा पढाइ हुन्छ । अध्ययन गर्न आउने विद्यार्थी व्यवस्थापनको चिन्ता नरहे पनि बाहिरबाट आउनेको उपस्थिति देखाउन चुनौती रहेको प्रधानाध्यापक रिन्जी शेर्पा बताउँछन् । ‘बाहिरबाट आउने विद्यार्थी टिकाउन समस्या छ,’ उनले भने, ‘राज्यले दिने सहयोग बढाउन जरुरी छ ।’
टोटल राष्ट्रिय मासिकबाट
https://www.khabarera.com/total/archives/2684
प्रकाशित मिति: १२ चैत्र २०७३, शनिबार ११:१९