सुर्खेत, ११ चैत । पूर्वरक्षामन्त्री रामबहादुर थापा बादलले माओवादीले तय गरेको संघीयताको एजेण्डा कार्यान्वयन गर्न बैशाख ३१ मा हुने स्थानीय निकायको चुनावमा जिताउन आग्रह गरेका छन् । उनले स्थानीय निकायको चुनावमा माओवादीलाई जिताए मात्रै संघीयताको एजेण्डा सफल हुने बताए ।
नेकपा माओवादी केन्द्रले शुक्रवार सुर्खेतमा निर्वाचनलक्षित जनसभामा बोल्ने नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख एवं पूर्व रक्षामन्त्री थापाले मुलुक माओवादी केन्द्रकै एजेण्डामा हिंडेकोले मुलुकको आर्थिक समृद्धिका लागि अव माओवादीलाई नै निर्वाचनमा जिताउन आव्हान गरे । उनले हरेक स्थानीय तहमा अव नागरिक सर्वोच्चता हुनुपर्ने र त्यसको अगुवाई नेकपा माओवादी केन्द्रले गर्नुपर्ने बताएका छन् । पार्टी नागरिक सर्वोच्चता कायम गराउन लागि परेको र विगतमा जनयुद्ध पनि नागरिक सर्वोच्चता कायम गराउनकै लागि भएको उनले जिकिर गरे ।
नेकपा माओवादी केन्द्रका प्रदेश नं. ६ का इन्चार्ज एवं पूर्व गृहमन्त्री शक्ति बस्नेतले मुलुक र अन्य दलहरु नेकपा माओवादी केन्द्रकै रोडम्यापमा हिंडिरहेको दावी गरे । संघीयता, संविधानसभा, गणतन्त्र, समानुपातिक समावेशी सिद्धान्त सवै माओवादीकै एजेण्डा भएको र मुलुक अहिले यसैमा आएकोले उनले मुलुकमा अव माओवादी युग पनि सुरु भएको जिकिर गरे ।
नेकपा माओवादी केन्द्रका ६ नं. प्रदेश संयोजक मायाप्रसाद शर्माले मुलुकले प्राप्त गरेको उपलव्धीमा अन्य दलको पसिना र आँसुभन्दा माओवादीको रगत बढी बगेको दावी गरे । पूर्व सांसद कालीबहादुर मल्लले स्थानीय तह कव्ज गर्नु माओवादीको पहिलो कार्यभार भएको जिकिर गरे ।
सांसद एवं नेकपा माओवादी केन्द्र संसदीय दलका सचेतक सीता नेपालीले विकास र राजनीतिमा अहिले माओवादीले नै नेतृत्व गरिरहेको दावी गरिन् । माओवादी युद्धको बलमा प्राप्त अधिकार रक्षाका लागि पनि स्थानीय तहमा माओवादीले जित्नैपर्ने उनको भनाइ छ ।
नेकपा माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्णबहादुर जिसीको अध्यक्षतामा भएको जनसभामा सुर्खेत संयोजक नरबहादुर विष्ठ, नरबहादुर बुढा, विप्लव माओवादी परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका ईश्वरभक्त सुनार, वैद्य माओवादी त्यागी माओवादी केन्द्र परित्याग गरेका रन्जीत शाहीलगायतले पनि स्थानीय तहको निर्वाचनमा माओवादीको पकड बलियो बनाउन अपिल गरेका थिए ।
प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार १८:५०