कालीकोट, ११ चैत्र । मुलुकको विकासका लागि दक्ष जनशक्तिको आवश्यकता पर्ने भएकाले हरेक नागरिकले आफ्नो दक्षता बढाउनु पर्नेमा जोड दिइएको छ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र ग्रामीण विकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ–नेपाल) कालीकोटको आयोजनामा शुक्रबार मान्ममा आयोजित तीन महिने डकर्मी तालिमको उद्घाटनमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
तालिम उद्घाटन समारोहमा जिल्ला समन्वय समिति कालीकोटका सदस्य सचिव प्रदीपराज अधिकारीले दक्ष जनशक्तिले समाजको आर्थिक विकाससँगै सामाजिक रुमान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले कु्नै पनि आयममा दक्षता बढाउनु पर्नेमा जोड दिए । ‘कुनै पनि व्यक्तिको सीपले उसको आर्थिक समृद्धिको ढोका खोल्दछ’ उनले भने, ‘कुनै पनि सीपको दक्षताले मानिसलाई आत्मनिर्भर बनाउँदछ ।’
कुनै पनि कामको दक्षता मानिसका लागि स्वदेश र विदेशमा पनि काम लाग्ने भन्दै सदस्य सचिव अधिकारीले डकर्मी तालिम प्राप्त पछि सहभागिहरुको सीपले उनीहरुको आर्थिक विकाससँगै प्राकृतिक विपत्तीबाट हु्ने क्षति कम गर्न समेत सहयोग पुग्ने दावी गरे । उनले भने, ‘तालिमले मानिसलाई आर्थिक रुपमा मात्र सवल बनाउँदैन त्यसले विपत्ती कम गर्न पनि मद्दत गर्दछ ।’
कालीकोटमा भवन निर्माण तथा अन्य विकास आयोजनामा पनि दक्ष जनशक्ति बाहिरबाट ल्याउनु पर्ने बाध्यता रहेको भन्दै सदस्य सचिव अधिकारीले भवन निर्माणका लागि दक्ष जनशक्ति भए भवन निर्माण संहिता पनि कडाइका साथ लागू गर्न सकिने बताए ।
तालिम उद्घाटनमा घरेलु तथा साना उद्योग विकास समिति कालीकोटका अर्जुनप्रसाद भट्टराईले तालिमबाट सिकेको सीपलाई व्यवहारमा लागू गर्न सहभागिहरुलाई आग्रह गरे । रेडियो मालिका एफएमका स्टेसन मेनेजर खगेन्द्र भट्टराईले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न सके हरेक व्यक्तिहरुको जीवन परिवर्तनका लागि सहयोगी हुने बताए ।
सेभ द चिल्ड्रेनका जिल्ला कार्यक्रम संयोजक विजय बि.कले कालीकोटका १२ गाविसमा यूवा शसक्तिकरण परियोजना अन्तर्गत विभिन्न प्रकारका सात वटा तालिम सञ्चालन गरिरहेको जानकारी दिए । जिल्लामा डकर्मीका लागि बढ्दो माग र दक्ष जनशक्तिको अभावलाई मध्यनजर गरी तालिम आयोजना गरिएको बताए ।
भिडिसेफका अध्यक्ष मीनबहादुर बोगटीले शिक्षा र आर्थिक अवसर संसँगै भन्ने नाराका साथ विद्यालय उमेरका बालबालिकाहरुलाई शिक्षामा र विद्यालय बाहिर रहेका १८ देखि २२ वर्ष उमेर समूहका यूवाहरुलाई सीपमुसलक तालिम मार्फत आयआर्जनका लागि सहयोग गरिरहेको जानकारी दिए ।
सन् २०२० सम्म चल्लने यूवा शसक्तिकरण परियोजना अन्तर्गत सेभद चिल्ड्रेनको आर्थिक सहयोगमा भिडिसेफले कालीकोटका १२ गाविसमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइएको छ । संस्थाका अध्यक्ष मीनबहादुर बोगटीको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा सेभ द चिल्ड्रेनका इन्द्र बि.क ले स्वागत गरेका थिए भने चन्द्रबहादुर बिकले कार्यक्रम सञ्चालन गरेका थिए ।
आगमी २०७४ जेठ ९ गतेसम्म चल्ने उक्त डकर्मी तालिममा जिल्लाका विभिन्न गाबिसबाट १० जनाको सहिभागिता रहेको छ भने मनकामना टे«निङ एण्ड स्किल डेभलपमेन्ट प्रा.लि ले प्राविधिक सहयोग गर्ने जनाइएको छ ।
प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार १८:२७