बोआओ, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका उपप्रधानमन्त्री झाङ गाओ लीबीच भेटवार्ता भएको छ ।
नेपाली समय अनुसार आज दिउसो २ बजेदेखि भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यो भ्रमण नेपाल र चीनबीच सम्बन्ध विकासमा धेरै महत्वपूर्ण हुने विश्वास आफूले राखेको बताउँदै चीन सरकारवाट प्राप्त निमन्त्रणाप्रति आभार व्यक्त गरे ।
प्रधानमन्त्रीले नेपाल र चीनबीच बिगत लामो समयदेखि आत्मीय र समस्यारहित सम्बन्ध रहँदै आएको स्मरण गर्दै नेपालले वान चीन नीतिप्रति सधै समर्थन गर्दै आएको र नेपाली भुमिवाट चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने दृढता व्यक्त गरे ।
प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङले अघि सारेको वान बेल्ट वान रोडमा नेपालले साझेदारी गर्ने प्रतिवद्धता व्यक्त गर्दै भुकम्प पछि चीनले गरेको महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
चीनको विकास र आर्थिक उन्नतिवाट नेपालले पनि फाइदा लिन सक्ने वताउँदै प्रधानमन्त्रीले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई संविधान निर्माणमार्फत् संस्थागत गरिएको र अहिले स्थानीय तहको चुनाव हुँदै संविधान कार्यान्वयन गरेर राजनीतिक स्थायीत्व हासिल गर्ने वाटोमा नेपाल अघि बढेको वताएका थिए ।
प्रधानमन्त्रीले रसुवा, काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेलवे निर्माण, इनर्जी कनेक्टीभिटी, टान्जिट प्रोटोकल, पूर्वाधार विकास, पेट्रोल भण्डारण, टान्समिसन लाइन, इकोनोमिक जोनसहितका विभिन्न विषयमा दुई पक्षीय सहमति जरुरी रहेको वताए ।
प्रधानमन्त्रीले नेपाल र चीनबीच सम्बन्धको ऐतिहासिक मार्ग अरनीको मार्ग भएर आउने तातोपानी नाका तत्काल खोल्न आग्रह गर्दै पूर्व पश्चिमका विभिन्न चीनसँग जोडिएका स्थानमा नाकाहरु खोल्न पनि आग्रह गरे ।
प्रधानमन्त्रीले नेपाल सरकारको तर्फवाट यसअघि चीनसँग भएका सम्झौता र सहमति कार्यान्वयनको प्रतिवद्धता व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र आपसी हितका विभिन्न विषयमा खुलला र स्पष्ट रुपमा नेपालको धारणा प्रस्तुत गरे ।
भेटमा चीनका उपप्रधानमन्त्री झाङ गाओलीले कुटनैतिक सम्बन्ध स्थापना भएको ६२ बर्षदेखि नेपाल र चीनबीच धेरै नगिचवाट सहकार्य हुँदै आएको वताउँदै प्रधानमन्त्री प्रचण्डको यो भ्रमण सम्बन्धलाई अझै नयाँ उचाईमा पु-याउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
उनले प्रधानमन्त्री प्रचण्डको केही समय पहिले भारतको गोवामा भएको चिनीया राष्ट्रपतिसँगको भेट एवम् चीन भ्रमणका क्रममा हुने भेट धेरै महत्वका रहेको वताउँदै उहाँले चीनले सधै नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाभिमानको सम्मान गर्दै आएको वतार्ए ।
चीनका राष्ट्रपतिले उपर्युक्त समयमा नेपालकाे भ्रमण गर्ने जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अघि सार्नुभएका रेलवे, ट्रेड, कनेक्टिीभिटी, पूर्वाधार विकास लगायत सबै विषयमा चीन सकारात्मक रहेको वताउँदै यी विषयमा छिट्टै सहमति गरेर सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
उहाँले अरनीको राजमार्ग खोल्नेवारे सकारात्मक रहेको वताउँदै नेपाललाई विभिन्न स्तरमा सहयोग बढाउँदै लगिने जानकारी दिए ।
नेपालले संविधान निर्माण गरेर निर्वाचनमा जुटेकोमा खुशी व्यक्त गर्दै उहाँले नेपालका राजनीतिक दलहरु एकतावद्ध भएर जुनसुकै आन्तरिक समस्या समाधान गर्न सक्छन् भन्ने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार १७:३४