राजविराज (सप्तरी), १० चैत । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानव अधिकार संसदीय समितिअन्तर्गत गठित उपसमितिले (नेकपा)एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत सप्तरीको मलेठमा प्रहरीसँगको झडप सम्बन्धमा स्थलगत अध्ययन अनुसन्धान सुरु गरेको छ ।
सो घटनामा परी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु एवम् घाइते भएका घटनाको विषयमा विस्तृत अध्ययन–अनुसन्धान गर्न समितिका संयोजक सांसद मोख्तार अहमदको नेतृत्वमा सांसदको टोलीले आज घटनास्थल मलेठस्थित गजेन्द्रनारायण सिंह राजविराज औद्योगिक क्षेत्रमा अध्ययन एवम् अनुसन्धान सुरु गरेको हो ।
समितिमा सांसद वसुन्धरा रोकाया, दुलारी हरिजन, श्यामसुन्दर टिबडेवाल, उषा यादव र शाखा अधिकृत ज्ञानहरि पन्थी रहनुभएको छ । टोलीले घटनास्थलको अवलोकनपछि पीडित परिवार, प्रत्यक्षदर्शी र मोर्चाका नेता तथा कार्यकर्तासँग घटनाबारे जानकारी लिएको राष्ट्रिय मधेस समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलले बताए ।
घटनास्थलको अध्ययन तथा अनुसन्धानपछि टोलीलाई राजविराजस्थित प्रजिअ निवास कक्षमा पत्रकार तथा विभिन्न राजनीतिक दल र मोर्चाका कार्यकर्तासँग भएको भेटघाटका क्रममा मोर्चाका तर्फबाट संयोजक दिनेशकुमार यादवले मलेठ घटनाबारे जानकारी गराएका थिए ।
मलेठ घटनाका समयका तत्कालीन प्रजिअ उद्धव तिमिल्सेना, प्रहरी उपरीक्षक दिवेश लोहनी, नायब उपरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी उपरीक्षक जयबहादुर खड्कालाई गृह मन्त्रालयले घटनालगत्तै फिर्ता बोलाइसकेको भए पनि कारबाही गर्नुपर्ने माग गरेको बताइएको छ ।
गत फागुन २३ गते एमालेले आयोजना गरेको अभियानका क्रममा प्रहरीले चलाएको गोली लागेर सप्तरीमा पाँच जनाको मृत्यु भियो भने करिब २५ जना मोर्चा कार्यकर्ता घाइते भएका थिए । सो क्रममा प्रहरीको गोली लागेर मलेठ–२ का सञ्जन मेहता र वीरेन्द्र महतो तथा मलेठ–४ का पीताम्बर मण्डल, जमुनी मधेपुरा–१ का इनर यादव र प्रसवनी–७ टेङ्गरीका आनन्द साहको मृत्यु भएको थियो । रासस
प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार ०६:५२