काठमाडौँ, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तरी छिमेक जनगणतन्त्र चीनको छदिने औपचारिक भ्रमण थाल्नुअघि आज पूर्वप्रधानमन्त्री तथा चीन मामिलाका विज्ञहरुसँग छलफल गरेका छन् ।
आज चीन भ्रमणमा निस्कनुअघि प्रधानमन्त्री दाहालले आफूले गर्ने द्विपक्षीय एवम् बहुपक्षीय भेटवार्ता र आपसी चासोका विषयमा उनको सरकारी निवासमा पूर्वप्रधानमन्त्री तथा विज्ञसँग सुझाव लिएका हुन् ।
बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्रीको चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री तथा विज्ञ तथा व्यवसायीलाई स्पष्ट पारिएको जानकारी दिए ।
चीनको हाइनान प्रान्तको बोआओमा यही चैत १०–१३ गतेसम्म हुने एसियाको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री आज राति त्यसतर्फ प्रस्थान गर्दै छन्। सो क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिनसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री महतले दुई देशबीच सहयोगको क्षेत्र कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा नेपालको तयारी पूरा भएको छ तर अहिले प्राविधिक कारणले सम्झौता भने नहुने बताए । उनले भने, “दुई देशको कनेक्टिभिटी, कोदारी सडक, स्याफ्रुबेसी मार्ग र वन बेल्ट वन रोड लगायतका विषयमा छलफल भयो ।”
बैठकमा सहभागी पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई देशबीच सद्भाव अभिवृद्धि गर्न सम्पूर्णरुपले ध्यान केन्द्रित गर्नुहोस् भनेर आपूmहरुले सुझाव दिएको बताए ।
उनले भने, “दुई देशबीच विकास र सहयोगका धेरै सम्भावना छन् । त्यो सम्भावनालाई ध्यानमा राखेर जानुपर्छ । यस बीचमा चिसिन खोजेको भ्रमणलाई न्यानो बनाउन सक्नुभयो भने सफल हुन्छ भन्ने हाम्रो विश्वास छ ।” बैठकमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी थिए ।
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले अहिले चीन र भारतसँगको सम्बन्धमा विश्वासको कमी भएर गएकाले सद्भाव बढाउन सुझाव दिएको बताए । उनले भने, “विश्वासको सङ्कट हुन थालेको अवस्थामा यस्ता भ्रमणको मूल उद्देश्य विश्वास आर्जन गर्ने हो, सद्भाव बढाउने हो ।” रासस
प्रकाशित मिति: १० चैत्र २०७३, बिहीबार १३:३०