लिबाङ (रोल्पा), ९ चैत । रोल्पाको जलजलामा शान्तिवाटिका तथा सहिद स्मारक निर्माण गर्नका लागि राष्ट्रिय सहिद तथा शान्ति पार्क (स्मारक) निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले यसै साता थबाङ हुँदै जलजलाको अवलोकन भ्रमण गरेका छन् ।
सिग्देललाई नेपाली काँग्रेसका सांसद तथा पार्टी सभापति अमरसिंह पुनले विभिन्न स्थानको अनुगमनमा साथ दिएका थिए । केन्द्रस्थित पार्क व्यवस्थापन समितिले देशका विभिन्न आन्दोलनका विभिन्न कालखण्डका महान सहिदको केन्द्रीय पार्कमा अभिलेख उतार गर्ने गर्दछ ।
यसरी अध्ययन तथा अनुगमनपश्चात् गुरुयोजनाले निर्दिष्ट गरेका महान् सहिदको अङ्ग्रेजी र नेपालीमा सहिद पिलर नामकरण गर्नाका साथै सङ्ग्रहालयमा सहिद तथा शान्तिसम्बन्धी जति पनि दस्तावेज छन् तिनलाई सङ्कलन गरी शान्ति अध्ययन केन्द्र निर्माण गर्नुपर्ने भएकाले अध्ययन तथा अनुगमनका लागि आफू रोल्पाको लिबाङ, थबाङ हुँदै जलजलासम्म पुगेको सिग्देलले जानकारी दिए ।
उनका अनुसार अन्य जिल्लाको तुलनामा रोल्पामा सहिद बढी भएको र शान्ति प्रक्रियामा रोल्पाको अहम् भूमिका भएको हुँदा शान्ति पार्क तथा सहिद स्मारक निर्माणका लागि पहिलो चरणमा रोल्पाको अध्ययन तथा अनुगमन गरिएको हो । जलजलालगायत जिल्लाका जुनसुकै उपयुक्त स्थानमा सहायक पार्क निर्माणका लागि जिल्लाका राजनीतिक दल, नागरिक समाज, सहिद परिवार तथा अन्य सरोकारवाला निकायसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आगामी आवसम्म सम्पन्न गरी गुरुयोजना तयार पार्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत आवश्यक प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए ।
देशका सातवटै प्रदेशमा छुट्टाछुट्टै सहायक पार्क निर्माण गर्ने उद्देश्य रहेको भएपनि रोल्पाका सांसद अमरसिंह पुनले पटक पटक रोल्पाको जलजलालाई शान्तिवाटिका तथा सहिद स्मारक बनाउन प्रस्ताव गरेको हुँदा उनको सुझावअनुरुप पहिलो चरणमा अध्ययन तथा अनुगमनका लागि थबाङ हुँदै जलजला पुगेको सिग्देलले जानकारी दिए ।
रोल्पाको थबाङ हुँदै जलजलामा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सके यी स्थानलाई पर्यटकीय नगरका रुपमा विकास गर्न सकिने उनको धारणा छ ।
यस्तै, जलजला अत्यन्त सुन्दर तथा मनमोहक ठाउँ भएको हुँदा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा चिनाउन सकिने उनले बताए । साथै भौगोलिक बनौटका आधारमा पनि जलजला उच्च स्थानमा रहेको र यहाँ विभिन्न किसिमका जडीबुटी तथा वनस्पति पाइने भएको हुँदा पनि यसको संरक्षण र संवद्र्धनमा सबैको ध्यान जानुपर्नेमा उनको जोड छ । रासस
प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार ११:३१