काठमाडौँ ९ चैत । बैंक खाताका डिजिटल कोड अनधिकृत रुपमा हात पारेर ३ करोड ३२ लाख रुपैयाँ चोरी गरेको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले मुख्य योजनाकारसहित ८ जनालाई काठमाडौंका विभिन्न स्थानबाट रकम चोरीका लागि प्रयोग गरिएका प्वाइन्ट अफ सेल मेसिन र म्याग्नेटिक कार्डसहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमा दोलखाका सुरेश केसी, ललितपुरका केवलप्रताप जबरा, काठमाडौंका अनुज नकर्मी, अभिषेक नकर्मी र रोमन महर्जन, काभ्रेका विजय लामा दोङ तथा भारतका नदिम खान र अभिषेक पाण्डे रहेका छन् ।
आठमध्ये सुरेश मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ । यो समूहले विभिन्न व्यक्तिले बैंक तथा वित्तीय संस्थाको खातामा जम्मा गरेको रकम ठूला ठूला कारोबारी र होटलहरुले डिजिटल आर्थिक कारोबारका लागि उपयोग गर्ने प्वाइन्ट अफ सेलबाट डेबिट कार्ड, क्रेडिट कार्ड लगायतका विद्युतीय कार्ड प्रयोग गरी चार्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
बैंक खाताका डिजिटल कोड अनधिकृत रुपमा हात पारेर यो समूहले २ वर्षको अवधिमा ३ करोड ३२ लाख रुपैयाँ चोरी गरेको महाशाखाका प्रमुख दिनेश अमात्यले जानकारी दिए ।
प्रहरीले पक्राउ परेकाहरुमाथि बैंकिङ कसुर अन्र्तगत कारवाही प्रक्रिया अगाडि बढाएको छ । बैंकिङ कसुर अन्र्तगत १ करोड रुपैयाँ भन्दा बढीको विगोमा ६ वर्षसम्म कैद हुने व्यवस्था छ ।
दुई वर्ष पहिले पोखरास्थित टीका रिसोर्टको स्विप मेसिनबाट दुई करोड रुपैयाँ चोरेको यो समूहले ३ महिना पहिले भक्तपुरको पौराणिक थान्का तथा माला पसलको स्विप मेसिनबाट ४५ लाख रुपैयाँ चोरेको थियो ।
हालसम्म ९ वटा कम्पनीको स्विप मेसिनबाट रकम चोरेको यो समूह सिटी सेन्टरमा रहेको एडिडास शोरुमको स्विप मेसिनबाट प्रत्येक दिन १० लाख तथा उपत्यकास्थित क्यासिनोहरुको स्विप मेसिनबाट प्रत्येक दिन ५० लाख रुपैयाँ चोर्ने योजनामा थियो । काराेबार दैनिकमा खबर छ ।
प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार ०६:०२