पोखरा, ८ चैत । सरकारले स्थानीय निकायलाई तहमा रुपान्तरण गरेसँगै कास्की जिल्लामा क्रियाशील राजनीतिक दलले रुपान्तरित संरचनानुसारको पार्टी सङ्गठन निर्माणका लागि आफ्नो तयारी तीव्र बनाएका छन् ।
सरकारले कास्की जिल्लालाई पोखरा लेखनाथ महानगरपालिकासहित रुपा, माछापुच्छ«े, अन्नपूर्ण र मादी गाउँपालिका गरी पाँच तहमा संरचित गरेको छ । जिल्लाको नयाँ संरचनानुसार पार्टीका सङ्गठन निर्माणका लागि यतिखेर कास्कीमा क्रियाशील दलले आआफ्ना भेला तथा छलफललाई अघि बढाएका छन् । स्थानीय तहको आगामी वर्ष वैशाख ३१ गते हुने निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयले पनि पार्टीभित्र प्राथमिकता पाएको छ ।
जिल्लाको नयाँ संरचनानुसारको पार्टी सङ्गठन निर्माणका साथै स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी नेकपा (माओवादी केन्द्र)ले आफ्नो तयारी तीव्रताका साथ अघि बढाएको पार्टीका केन्द्रीय सदस्य विश्वप्रकाश लामिछानेले बताए ।
“तहगत रुपमा पार्टीको सङ्गठन निर्माणका साथै निर्वाचनमा ककसलाई उम्मेदवार बनाउने भन्ने विषयलाई केन्द्रित गरी जिल्लाभित्र पार्टीका भेला तथा छलफल अघि बढिसकेका छन्,” उनले भने, “स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार तयका साथै साङ्गठनिक संरचनाका विषयमा थप छलफलपछि टुङ्गोमा पुगिने छ ।”
जिल्लाको नयाँ संरचनासँगै नेपाली काँग्रेस कास्कीले त्यहीअनुरुपका भेला तथा छलफल अघि बढाएको काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले जानकारी दिए । “पुनःसंरचना अनुसारको सङ्गठन निर्माणको विषयका साथै स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी सोहीअनुरुपका तयारी अघि बढेका छन् ” उनले भने, “पार्टीको यही चैत १० गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकले यस सम्बन्धमा थप निर्णय गर्ने भएकोले हामी त्यसको प्रतीक्षामा छौंँ ।”
नयाँ संरचनानुरुप तहगत रुपमा नेकपा(एमाले)ले जिल्लाभित्र आफ्नो तयारी अघि बढाएको पार्टीका प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले बताए । परिवर्तित संरचनानुसारको सङ्गठन निर्माणका साथै आसन्न निर्वाचनलाई लक्ष्य गरी पार्टीले आफ्ना गतिविधि बढाएको उनको भनाइ छ ।
स्थानीय तहको निर्वाचनमा जिल्लाका पाँच वटै तहमा प्रमुख तथा उपप्रमुख, वडाध्यक्ष एवम् सदस्यको निर्वाचन हुने भएकाले त्यहीअनुरुपको पार्टी सङ्गठन निर्माण र उम्मेदवारीको विषयले जिल्लाका राजनीतिक दललाई सक्रिय बनाएको छ ।
तीन सयभन्दा बढी जनप्रतिनिधि
स्थानीय तहको निर्वाचनबाट कास्कीमा ३७० जनप्रतिनिधि निर्वाचित हुने भएका छन् । निर्वाचनबाट पोखरा–लेखनाथ महानगरपालिकामा एक एक प्रमुख रस उपप्रमुख, रुपा– मादी– माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिकामा चार चार अध्यक्ष र उपाध्यक्ष निर्वाचित हुने क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिए ।
त्यस्तै महानगरपालिकाका ३३ र चार गाउँपालिकाका ३९ वडाबाट ७२ वडाध्यक्ष, एक सय ४४ वडा सदस्य तथा ७२–७२ महिला र दलित महिला सदस्य छानिने छन् । निर्वाचन सम्पन्न भएपछि बनेको नगरसभाले महानगरपालिकामा तीन जना तथा चार गाउँपालिकाको गाउँ सभाले दुई- दुई जना मनोनयन गर्ने प्रावधान रहेको बताइएको छ । रासस
प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलवार १३:१८