काठमाडौँ, ५ चैत । निबन्धकार शङ्कर लामिछाने प्रतिष्ठानले अक्षर शिरोमणि मदनमणि दीक्षितलाई आज अभिनन्दन गरेको छ ।
सो प्रतिष्ठानले निबन्धकार शङ्कर लामिछानेको ४१ औँ जन्मजयन्तीको सन्दर्भमा आज यहाँ विशेष कार्यक्रम गरी दोसल्ला ओढाएर सम्मानपत्रले अभिनन्दन गरेको हो ।
सोही प्रतिष्ठानले यस वर्षको ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार’ बाट वरिष्ठ साहित्यकार बालकृष्ण पोखरेललाई नगद रु ५० हजारसहित पुरस्कृत गरेको छ । त्यसैगरी, शङ्कर लामिछाने युवा निबन्धकार पुरस्कार’बाट नियात्राकार दामोदर पुडासैनीलाई नगद रु २५ हजार तथा सम्मानपत्र प्रदान गरिएको छ ।
सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले दीक्षितले नेपाली भाषा, साहित्यको समुन्नतिमा ठूलो योगदान गरेकाे बताउँदै उनलाई प्रतिष्ठानले गरेको अभिनन्दनको सराहना गरे ।
वरिष्ठ साहित्यकार तारानाथ शर्माले नेपाली साहित्यका महत्वपूर्ण कृतिलाई अनुवादका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउनुपर्नेमा जोड दिए।
निबन्धकार लामिछानेका श्रीमती रत्ना, प्रतिष्ठानका सदस्यसचिव राधेश्याम लेकाली लगायतले निबन्ध क्षेत्रको विकासमा लामिछानेले पुर्याएको योगदानकाबारेमा समीक्षा गर्दै वरिष्ठ निबन्धकार लामिछानेको स्मरणमा स्थापना गरिएको सो प्रतिष्ठानले नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेका साहित्यकारलाई अभिनन्दन तथा पुरस्कृत गर्ने नीति रहेको बताए ।
सोही अवसरमा निबन्धकार नरेन्द्रराज पौडेलको ‘विमोचनको बिगबिगी’ नामक कृति विमोचन गरिएको थियो । रासस
प्रकाशित मिति: ५ चैत्र २०७३, शनिबार १८:४९