काठमाडौ ५ चैत । सत्तारूढ कांग्रेसका झापादेखि कञ्चनपुरसम्मका सांसदहरूले मधेसी जनधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेसमा भित्र्याउन छलफल अघि बढाएका छन् ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा सांसदहरूले मधेसका लोकप्रिय नेता गच्छदारलाई फेरि कांग्रेसमा ल्याउन सके तराई मधेस र थारू बहुल क्षेत्रमा कांग्रेसको जनाधार ह्वात्तै बढ्ने भन्दै छलफल अघि बढाएका हुन् ।
बैठकमा सहभागी नेता रामकृष्ण यादवले फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई कांग्रेसमा भिœयाउन सके निर्वाचनका बेला थप मजबुत हुन सकिन्छ भन्ने निष्कर्ष सहभागीले सुनाएको बताए । ‘गच्छदारलाई कांग्रेसमा भिœयाउन सके निर्वाचनका बेला थप मजबुत हुन सकिन्छ भन्नेमा सबैको एकमत रह्यो,’ यादवले भने । बैठकमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले पनि कांग्रेसका पुराना नेता तथा प्रजातान्त्रिक विचार बोक्ने नेताका हैसियतले फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई कांग्रेसले उचित सम्मानसहित भिœयाउन सके निर्वाचनमा कांग्रेसको माहोल निकै राम्रो हुने निष्कर्षसहित नेतृत्वले ध्यान दिनुपर्ने बताएका थिए ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री बुढाथोकीले गच्छदारलाई सके कांग्रेसमै ल्याउने, त्यो सम्भव नभएको अवस्थामा चुनावी गठबन्धन बनाएर भए पनि लैजान सुझाव दिए । ‘गच्छदारजीलाई पार्टीमा ल्याउने हो भने एक नम्बर प्रदेशको झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी र सिरहासम्म कांग्रेसलाई फाइदा पुग्छ,’ मन्त्री बुढाथोकीको भनाइ उद्धृत गर्दै एक नेताले भने । अर्का सांसद सञ्जय गौतमले गच्छदारलाई कांग्रेसमा ल्याउँदा पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा कांग्रेसलाई निकै ठूलो बल पुग्ने बताएका थिए । उनले बर्दियामा मात्र ३० प्रतिशत बढी थारू समुदाय रहेको भन्दै फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारलाई कांग्रेसमा मिलाउन प्रस्ताव गरेका थिए ।
उनीहरूले फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारसँग यस विषयमा व्यक्तिगत रूपमा कुराकानी भइरहेको भन्दै संस्थागत गर्न नेतृत्वलाई दबाब दिने निष्कर्ष निकालेका छन् । कांग्रेसमा रहेर मन्त्रीसमेत बनिसकेका गच्छदार संविधानसभाको चुनावको समयमा मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए । सो पार्टीबाट पनि अलग भई उनले फोरम लोकतान्त्रिक गठन गरेका हुन् । कांग्रेसको सबै विषयमा जानकार गच्छदारलाई पुनः ल्याउन सके चुनावमा परिणाम राम्रो हुने कांग्रेसका ती सांसदको भनाइ छ ।
संशोधन अघि बढाउनुपर्ने निष्कर्ष
सत्तारूढ कांग्रेसभित्र स्थानीय तहको निर्वाचनअघि नै व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन प्रक्रिया अघि बढाउन दबाब बढेको छ । झापादेखि कञ्चनपुरसम्म तराई–मधेसबाट प्रतिनिधित्व गर्ने सांसद तथा केन्द्रीय सदस्यहरूले स्थानीय तहको निर्वाचनअघि नै व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई टुंगोमा पु¥याउन दबाब दिने निर्णय गरेका हुन् ।
शुक्रबार बसेको बैठकले १० चैतलाई तय भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट नै संशोधनको प्रक्रिया अघि बढाउने निर्णय लिइनुपर्ने निष्कर्षसमेत निकालेको केन्द्रीय सदस्य डा. शेखर कोइरालाले जानकारी दिए । ‘संशोधन विधेयक सरकारले दर्ता गराएको हो, सरकारमा कांग्रेस पनि छ, त्यसैले सबै साथीहरू एकढिक्का भएर केन्द्रीय समिति बैठकबाट निर्णय लिनुपर्छ भन्ने निष्कर्ष हो,’ कोइरालाले राजधानीसँग भने । बैठकमा बोल्ने अधिकांश वक्ताहरूले कांग्रेसले सबैभन्दा ठूलो पार्टीको हैसियतले मुलुकको समस्या समाधानमा अग्रसरता लिनुपर्नेमा जोड दिएका थिए ।
‘तराई मधेसको समस्या समाधानमा ठूलो दलका हिसाबले पार्टीले अग्रसरता लिनुपर्छ भन्ने निष्कर्ष बैठकको छ,’ केन्द्रीय सदस्य तथा सांसद रामकृष्ण यादवले भने, ‘निर्वाचन घोषणा भइसकेको, संशोधन स्थगित जस्तै भएकाले सो विधेयकलाई पारित गराउन र संविधानलाई सर्वस्वीकार्य बनाउन कांग्रेसले जिम्मेवारी लिनैपर्छ भन्ने अधिकांश साथीहरूले धारणा राख्नुभयो ।’ संविधानलाई सबैको अपनत्व हुने बनाउन र स्थानीय निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्न संशोधन पारित गर्न लाग्नुपर्नेमा बैठकले जोड दिएकोउनले बताए । बैठकमा डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल, फरमुल्ला मन्सुर, तारिणिदत्त चटौत, केशवकुमार बुढाथोकी, भरत साह, अमरेशकुमार सिंहलगायत उपस्थित थिए ।
प्रकाशित मिति: ५ चैत्र २०७३, शनिबार ०८:१९