काठमाडौ ४ चैत । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनको विषयमा सहमति जुटाउन संयुक्त कार्यदल गठन गरेका छन् । तीन दिनभित्र संविधान संशोधन तथा निर्वाचनको विषयमा सहमतिको बुँदा तयार पार्नेगरी संयुक्त कार्यदल गठन भएको हो ।प्रधानमन्त्री पुष्पकमल दाहालसहित सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र मोर्चाको बिहीबार बसेको संयुक्त बैठकले समस्या समाधानका लागि आधार तयार गर्न कार्यदल बनाएको हो । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकार र मोर्चाका तर्फबाट तीन–तीनजना सदस्य रहने गरी कार्यदल गठन गरिएको र कार्यदलले तीन दिनभित्र संशोधनसम्बन्धी सहमतिका बँुदाहरू तयार गर्ने बताए ।
‘बैठकमा सरकार र मोर्चाबाट तीन–तीनजना सम्मिलित हुने गरी कार्यदल गठन गरिएको छ,’ ठाकुरले राजधानीसँग भने, कार्यदलले तीन दिनभित्र संशोधनसम्बन्धी सहमतिका बुँदाहरु तयार गर्नेछ ।’ कार्यदलका सदस्यहरूको टुंगो भने सरकार तथा मोर्चा दुवै पक्षले लगाएका छैनन् ।
अध्यक्ष ठाकुरले शुक्रबारदेखि नै कार्यदलको बैठक बसेर संविधान संशोधनमा कसरी सहमति जुटाउन सकिन्छ भनेर आधार खोज्ने र सहमतिका बुँदाहरू तय गर्ने बताए । आयोग गठन गरेर प्रदेश सीमांकन हेरफेरको विषयपछि टुंगो लगाउने वा सीमांकनको टुंगो लगाएर मात्र निर्वाचनमा जाने भन्ने विषयमा पनि कार्यदलले निष्कर्ष निकाल्ने ठाकुरको भनाइ छ । सरकारले आयोग गठन गरेर प्रदेश र संघको निर्वाचनअगाडि तर स्थानीय तहको निर्वाचनपछाडि सीमांकन संशोधनको विषय टुंगो लगाउने गरी मोर्चालाई निर्वाचनमा सहभागी हुन आग्रह गर्दै आएको छ । तर, मोर्चाले सीमांकन संशोधन निर्वाचनअगावै टुंगो लगाउनुपर्ने माग राख्दै आएको छ ।
यता, मोर्चाले स्थानीय तहको निर्वाचनभन्दा पहिला नै प्रदेश र संघको निर्वाचन गर्नुपर्ने नयाँ माग अघि सारेको छ । स्थानीय तहको अ धिकार खोसेर प्रदेशमा राख्नुपर्ने माग पनि मोर्चाको छ । अध्यक्ष ठाकुरले कुन निर्वाचन पहिला गर्ने तथा संशोधनमा कसरी सहमति गर्ने भन्ने लगायतका विषयमा कार्यदलले सहमति जुटाउने जानकारी दिए । माओवादी केन्द्रका नेता मातृका यादवले निकासका लागि बैठकमा विभिन्न विषयमा छलफल भएको बताए । ‘प्रधानमन्त्रीले सहमति जुटाउन कसरी सकिन्छ भनेर अधिकतम लचकता र स्पष्टताका साथ मोर्चासँग कुराकानी अगाडि बढाउनुभएको छ, तर सहमति भएको छैन,’ यादवले
राजधानीसँग भने ।नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बैठकपछि सञ्चारकर्मीहरूसँग समस्या चाँडै समाधान हुने प्रतिक्रिया दिएका थिए । ‘प्रधानमन्त्रीले जति समस्या छन् त्यसलाई समाधान गरी अगाडि जाऊँ भन्नुभयो,’ सिटौलाले भने, ‘समाधान जसरी पनि हुन्छ ।’ प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले बैठकमा आयोग गठन गरेर सीमांकन हेरफेरको विषय टुंगो लगाउने गरी सीमांकन थाती राखेर बाँकी तीनवटा विषयलाई पारित गरेर निर्वाचनमा सहभागी हुन मोर्चाका नेताहरूलाई पुनः आग्रह गरेका थिए । मोर्चाका नेताहरू भने सीमांकन संशोधन निर्वाचनपहिला हुनुपर्नेमा नै अडिग रहँदै आएका छन् ।
‘सीमांकन संशोधनलाई तत्कालका लागि थाती राखेर बाँकी तीनवटा विषय अहिले नै पारित गरेर निर्वाचनमा जाऔं भन्ने प्रस्ताव प्रधानमन्त्रीले राख्नुभयो,’ मोर्चाका नेता अनिल झाले राजधानीसँग भने, ‘हामीले यो कुरा पहिला पनि भएको र यसमा मान्न सकिने भए पहिले नै सहमति जुटिसक्ने कुरा राख्यौं ।’
प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार ०५:५२