नयाँदिल्ली, ३ चैत । भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच आज बिहान भेटबार्ता भएको छ।
नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृृत्यु भएको घटनाबारे आफ्ना समकक्षी सिंहको ध्यानाकर्षण गराएका थिए । जवाफमा भारतीय गृहमन्त्री सिंहले सो घटनालाई अफसोचपूर्ण घटना भन्दै त्यसप्रति दुःख व्यक्त गरेका थिए ।
त्यस अबसरमा गृहमन्त्री निधिले नेपाल भारत सीमा विवादका सम्बन्धमा विगत तीन वर्षदेखि काम गर्दै आएको तीनवटा संयुक्त प्राविधिक टिममा २ वटा टिम थपेर सीमा स्तम्भ लगायतका प्राबिधिक कामलाई थप गति दिने प्रस्ताव गरेका थिए ।
भारतीय गृहमन्त्री सिंहले प्राविधिक टिम थप्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको प्रतिकृया दिएका थिए । दुई देशका गृहमन्त्रीबीच सुरक्षा क्षेत्रमा विद्यमान सरसहयोगलाई निरन्तरता दिने र आगामी दिनमा त्यसलाई थप सुदृढ बनाउने बिषयमा छलफल भएको थियो ।
भारतीय समकक्षी सिंहसँगको भेटमा गृहमन्त्री निधिले विगतको संविधान सभा चुनावमा भारतीय पक्षले गृहमन्त्रालय र निर्वाचन आयोगलाई आवश्यक पर्ने लजिस्टिक सपोर्ट गरेकोमा आभार व्यक्त गर्दै आगामी निर्वाचनमा पनि सहयोगका लागि आग्रह गरेका थिए । भारतीय समकक्षी सिंहले लजिस्टिक सपोर्ट गर्ने विषयलाई सकारात्मक रुपमा लिएका थिए । सो भेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी थिए ।
प्रति आतंकवाद सम्बन्धि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन तीन दिनअघि नयाँ दिल्ली आएका गृहमन्त्री निधि राजनीतिक भेटघाटमा व्यस्त छन् । गृहमन्त्री निधिले आज अपरान्ह भारतीय विदेशमन्त्री शुष्मा स्वराजसँग भेट्ने कार्यक्रम रहेको छ । उपप्रधानमन्त्री निधि भोलि स्वदेश फर्कदै छन् ।
प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार १४:३९