त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकजाँच पास गरी भित्रिएको ३३ किलो सुनको जालो प्रहरीले फेला पारेको छ । यसमा संलग्न केही पक्राउ परे पनि सबै पक्राउ परेका छैनन् । दुबई बस्ने नेपालीहरुले भन्सारका कर्मचारी र प्रहरी मिलेमतोमा तस्करी गर्दै आएको रहस्य प्रहरीले फेला पारेको छ ।
करिब २ महिनाको अनुसन्धानपछि प्रहरीले १२ लाई पक्राउ गरेको छ भने अझै १८ जना फरार भएको केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी नवराज सिलवालले जानकारी दिए । उनका अनुसार तस्करीमा संलग्न १२ जनालाई नै मुद्दा चलाइसकिएको छ ।
तस्करीमा उच्च तहका व्यक्ति रहेको आंशका गरिए पनि प्रहरीको अनुसन्धानले दुबईमा रहेका काभ्रेका हरिशरण खड्का मुख्य व्यक्ति भएको तथ्य सार्वजनिक गरेको छ । १२ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएका खड्कासहित अन्य ४ जनाले लामो समयदेखि सुन तस्करी गर्दै आएको ब्युरोले जनाएको छ ।
खड्काको आर्थिक हैसियत, सम्पर्क जालोको विश्लेषणपछि प्रहरी खड्का नै सुन तस्करीको मुख्य नाइके भएको निष्कर्षमा पुगेको हो । खड्कालाई रोशन भुसाल, रञ्जन पन्त, अर्जुनप्रसाद खरेल र ध्रुव नाम गरेका व्यक्तिले तस्करीमा सहयोग गर्ने देखिएको प्रहरीले जनाएको छ । उनीहरु तस्करीको मुख्य योजनाकार र लगानीकर्ता रहेको डीआईजी सिलवालले जानकारी दिए ।
खड्काले दुबईमै बसी दुबई र नेपालका २९ जनालाई परिचालन गरी १७ महिनादेखि सुन तस्करी गराउँदै आएका थिए । दुबईमा रहेका नेपालीको पैसा संकलन गरी हुन्डीमार्फत नेपाल पठाउने काम गर्ने गरेको र पछि सुन तस्करी गर्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । तस्करीकै पैसाबाट खड्काले रोशन भुसालसँग मिलेर दुबईको बरदुबईमा याक एन्ड यती रेस्टुरेन्ट खोलेका थिए । उनले तस्करी गर्न सजिलो होस् भनेर दुबईमा सुन पसलसमेत खोलेका थिए । प्रहरीका अनुसार उनले दुबईमै ट्रेडिङ व्यवसायका लागि वाग्मती ट्रेडिङ एलएलसी कम्पनी दर्ता गरेका थिए । दुबईमा रहेको सुन पसल, वाग्मती ट्रेडिङ र दरबार रोधीलाई आवरण बनाएर खड्का डेढ वर्षमा सुन तस्करीको नाइके बनेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।
खड्काको सम्पर्कमा रहेका सन्तोष काफ्ले भने तस्करीको सुन संकलन गरी नेपाल पठाउने अर्का मुख्य व्यक्ति हुन् । दुबईबाट काफ्लेले भोला मगर, माधव सुवेदी, विष्णु सुवेदी र संकेत खतिवडामार्फत सुन नेपाल पठाउने गरेका थिए ।
यसरी आउने सुन सहजै विमानस्थलको सुरक्षा पार गराएर बाहिर ल्याउन भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादवलाई दिलबन्धु थापाले परिचालन गरेका थिए ।
काफ्लेको सुन लिएर आएका गोपालबहादुर शाहीलाई प्रहरीले गौशालाबाट पक्राउ गरेपछि उनकै बयानका आधारमा अन्य दुई र त्यसपछि अन्य जालो प्रहरीले केलाएको थियो । सुन पास गराउन काफ्लेले एसएसपी श्याम खत्री र भन्सार अधिकृत श्रीनारायण यादव र राजकुमार ढकालमार्फत सेटिङ मिलाएका थिए ।
३३ किलो सुनसहित पक्राउ पर्ने पहिलो व्यक्ति शाही नै थिए । उनीसँग सुन लिन आउने थापा र काफ्ले पनि पक्राउ परेका थिए । उनीहरुकै
बयानका आधारमा भन्सारका कर्मचारी पक्राउ परेका थिए । भन्सारका कर्मचारीको बयानमा एसएसपी खत्रीसमेत तानिए ।
यादवले विमानस्थलको सबै सेटिङ मिलाएका थिए । उनलाई भन्सारका अन्य कर्मचारी एक्सरे मेसिन टेक्निसियन राजकुमार ढकाल, रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठ, प्रद्युम्नहरि श्रेष्ठ र गंगा भुर्तेलले सघाएका थिए । विमानस्थलमा सुरक्षा गार्डअन्तर्गत खटिएका प्रहरी
मिलाउन यादवले एसएसपी खत्रीसँग सेटिङ मिलाएको र खत्रीले सोहीअनुसार गरेका थिए ।
‘भन्सार कर्मचारीको संलग्नताको कारण नै केही समयदेखि सुन तस्कर भइरहेको थियो,’ डीआईजी सिलवालले भने, ‘विमानस्थलका कर्मचारीले बिदासम्म तस्करीका नाइकेले भनेअनुसारै बस्ने गरेको देखियो ।’ विमानस्थलका कर्मचारी र प्रहरी संरक्षणमा तस्करीको सुन बाहिरिएपछि रामहरि कार्की, रुबिन खड्का, सन्देश लोप्चन र प्रकाश खरेलले सुन बुझ्ने गरेको पनि उनले जानकारी दिए ।
तस्करीबाट आएको सुन दरबार रोधी क्लबमा लगेर मागअनुसार सुन व्यापारीहरुकोमा लैजाने गरेको पनि अनुसन्धानबाट खुलेको छ । दुबईबाट तस्करी भएर विमानस्थलको सुरक्षा पार गरी रोधी क्लबमा आइपुगेको सुन वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालक राजेन्द्रकुमार शाक्य, सुनील श्रेष्ठ र मनोज श्रेष्ठ, सालिमार ज्वेलर्सका रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल, भारतीय नागरिक विभूति अनमोल बालचन्द्र र रवि राजेश बोगटीले लिएर बजारमा फैलाउने गरेका थिए ।
सघाएबापत १७ लाख
अनुसन्धानको निचोडअनुसार तस्करीमा सघाएबापत विमानस्थलमा कार्यरत कर्मचारी र एसएसपी खत्रीले सुन पास गराउँदा किलोको ५० हजारदेखि ८० हजारसम्म पाउने गरेका थिए । सोअनुसार ३३ किलो सुन बाहिरिँदा यी दुवैले करिब १७ लाख पाएका थिए । तल्लो तहका कर्मचारीले एकपटकमा १ देखि २ लाख रुपैयाँ पाउने गरेको खुलेको डीआईजी सिलवाल बताउँछन् ।
सुन तस्करीका मुख्य नाइके ५ जना रहेको प्रहरी निष्कर्ष छ । उनीहरुलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरेको छ । प्रहरीले हरिशरण खड्का, रोशन भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेलको नाममा नोटिस जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
टोटल राष्ट्रिय मासिकबाट
https://www.khabarera.com/total/archives/2644
प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार १३:५८