दैलेख
ऐतिहासिक धार्मिक र सदियौंदेखि पानीमाथि निरन्तर आगो बल्ने हुँदा दैलेखको पञ्चकोसी क्षेत्र पर्यटकीय गन्तव्यतर्फ उन्मुख बनेको छ । यहाँका ज्वालालाई देवताका रुपमा पुज्ने गरिन्छ । गमौडीका शमशेरबहादुर शाही भन्छन्, ‘हामी जन्मिँदा सबैले देवता मानेर पूजा गर्थे त्यही अवलम्बन गरेका हौं ।’ यहाँ पूजापाठ गर्दा दुःखी बिरामी नहुने जनविश्वास छ ।
तस्बिर /भक्तबहादुर शाही
२०७३ वैशाखमा तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेले श्रीस्थानको ज्वाला अन्वेषणको उद्घाटन गरेका थिए । दुई देशबीचको लामो छलफलपछि यसको अन्वेषण र उत्खननको जिम्मा भने चीन सरकारले पाएको छ । यसका लागि चाओ सिङमीको नेतृत्वमा ६ सदस्यीय चिनियाँ विशेषज्ञ टोली नेपाल आएको थियो । टोलीले सदियौंदेखि बलिरहने श्रीस्थानको ज्वाला एलपी ग्यास भएको प्रतिवेदन निकाल्यो । पेट्रोलियम पदार्थ तथा एलपी ग्यास भएको खानी तथा भूगर्भ विभागले यसअघि नै पुष्टि गरिसकेको थियो । प्रतिवेदनमा यसबाट एलपी ग्यास सजिलै भर्न मिल्ने उल्लेख छ । नेपालमा यस्ता ग्यास तथा पेट्रोलियम पदार्थका १० स्थानमध्ये दैलेख तेस्रो स्थानमा पर्छ ।
पेट्रोलियम पदार्थ रहेको पुष्टि भएपछि ग्यास प्रशोधन भए आयआर्जन बढ्नेमा जिल्लाका बासिन्दा आशावादी बनेको गमौडीकै पूर्णनाथ योगी बताउँछन् । उनले भने, ‘देवता ठानेर पूजा गथ्र्यौं अब फल पाइन्छ कि, सरकारले यसबारे चासो दिन आवश्यक देखिन्छ ।’ ग्यास प्रशोधन भए यहाँका बासिन्दासँगै सिँगो मुलुक समृद्ध बन्ने राजनीतिककर्मी योगेन्द्रराज विक्रम थापा बताउँछन् । जिल्ला आउने अधिकांशले ज्वाला क्षेत्रको दर्शन गर्छन् । यही क्षेत्रलाई धेरैले प्राथमिकतामा नराखेको स्थानीयको गुनासो छ ।
दैलेख उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दानबहादुर थापाले मुलुकभित्र ग्यास पाइने सम्भावित स्थानको अनुसन्धान गरी चिनियाँ टोलीको प्रतिवेदन सरकारले चाँडो कार्यान्वयन गर्नुपर्ने बताए । ‘हामीकहाँ वर्षौंदेखि ग्यास बगेर÷बलेर खेर गइरहेको छ । यहाँ आएर सबै नेता, कर्मचारीले अवलोकन गरी फर्किएका छन्,’ उनले भने, ‘उनीहरू नै सरकारमा छँदा, नीति निर्माण तहमा पुग्दा खानीका रूपमा विकास गर्न चासो दिँदैनन् । सरकारी उदासीनले पञ्चकोसी, ज्वाला क्षेत्रमा पाइने ग्यास खेर गइरहेको हो ।’ दैलेखको शिरस्थान, नाभिस्थान, धुलेश्वर र पादुकामा पेट्रोलियम पदार्थ भएका प्रमाण छन् । धार्मिक र पर्यटकीय हिसाबले यी प्रख्यात छन् । शिरस्थान मन्दिरका महन्त गोकर्णनाथ योगी यहाँको ज्वाला सदियौंदेखि बलेको बताउँछन् । नाभिस्थान खोलाको विभिन्न भागमा पानीको सतहमुनिबाट हावाको फोकाका रूपमा ग्यास निस्किरहेको देख्न सकिन्छ । त्यहाँका दुवै मन्दिरभित्र ग्यास छ । बडलम्जीको धुलेश्वर डाँडामा पनि ग्यास पाइन्छ । जुन आजभोलि बल्न छाडेको छ । पादुकास्थानका ४ मन्दिरमा प्रशस्त पेट्रोलियम नमुना रहेको अनुसन्धानबाटै पत्ता लागिसकेको छ ।
पछिल्लो तथ्यांक हेर्दा ०६८ मा विज्ञ सम्मिलित संसद्को अर्थ र श्रम सम्बन्ध समितिले दैलेखका ग्यास सम्भावित क्षेत्रको अवलोकन गरेको थियो । संसदीय टोलीले ग्यासको नमुना संकलन गरी फर्किएको थियो । खानी तथा भूगर्भ विभागका अनुसार क्यानेडियन र चिनियाँ कम्पनीको अनुसन्धानबाटै यहाँ ग्यास भएको पुष्टि भएको छ । कहाँ, कति मात्रामा र त्यसको गहिराइ कति छ ? भन्नेबारे यकिन हुन सकेको छैन । भौगर्भिक विज्ञका भनाइमा पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन महँगो मानिन्छ । सरकारले आगामी १० वर्षमा खानी तथा खनिजमा आधारित उद्योगमा करिब सय अर्ब लगानी भिœयाउने नीतिले जिल्लावासीमा आशा पलाएको हो । जिल्लाका नेताको केन्द्रीयस्तरमा पहुँच अभावले ज्वाला क्षेत्रको उत्खननमा ढुक्क नभएको कांग्रेस क्षेत्रीय सभापति घनश्याम भण्डारी बताउँछन् ।
टोटल राष्ट्रिय मासिकबाट
https://www.khabarera.com/total/archives/2639
प्रकाशित मिति: २ चैत्र २०७३, बुधबार १७:४३