काठमाडौं, ३० फागुन । निर्वाचन आयोगले तोकिएको मितिमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न युद्ध स्तरमा तयारी अगाडि बढाएको छ । सरकारले ७ सय ४४ वटा स्थानीय तहको संख्या र सिमानासहितको प्रतिवेदन आयोगलाई बुझाएसँगै आयोगले आफ्ना तर्फबाट निर्वाचन सम्पन्न गर्नका लागि गर्नुपर्ने काम तीव्र गतिमा अगाडि बढाएको छ ।
मतपत्र छपाइ, मतदाता नामावली संकलन तथा प्रकाशन, कर्मचारी तथा सुरक्षासम्बन्धी व्यवस्थापनलगायतका काम सम्पन्न गर्न आयोगले आफ्नो काम तीव्र गतिमा अघि बढाइरहेको हो ।आयोगका प्रवक्ता तथा सहसचिव सूर्यप्रसाद शर्माले आयोगले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नका लागि दिन रात नभनी काम गरिहेको बताए । ‘रातदिन नभनी काम गरिरहेका छौं,’ आयोग प्रवक्ता शर्माले भने,
‘आरामले काम गरेर कुनै हालतमा निर्वाचन सम्भव छैन, त्यसैले हामीले रातदिन नभनी काम अघि बढाइरहेका छौं ।’आगामी २० चैतमा स्थानीय तहको निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारीमा आयोग खटिएको छ । आयोगले निर्वाचनका लागि व्यवस्थापकीय कार्यतालिका तयार गर्दै २० चैतका लागि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने घोषणा गरेको छ ।
आयोगका प्रवक्ता तथा सहसचिव शर्माले निर्वाचन आयोगले १० चैतमा मतदान केन्द्र निर्धारण गर्ने तयारी गरिरहेको बताए । आयोगले ३ वैशाखमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, ७ वैशाखसम्ममा मतपत्र छपाइ सम्पन्न गर्ने तथा १० वैशाखमा जिल्ला सदरमुकाममा मतदाता नामावली पु¥याउने आयोगकोे योजना रहेको छ ।
१२ वैशाखमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, १६ वैशाखमा उम्मेदवार मनोनयनपत्र दर्ता, १७ वैशाखमा उम्मेदवारको नामावली प्रकाशन, १७ वैशाखमा उम्मेदवारउपर दाबीविरोध उजुरी दिने, १८ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने, १९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, १९ गते नै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने र ३१ वैशाख २०७४ मा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने योजनामा आयोगले काम गरिरहेको छ । आयोगले २८ वैशाख २०७४ मा सबै निर्वाचन सामग्री सम्बन्धित जिल्लामा पु¥याउने जनाएको छ ।
आयोगले यसअघि नै मतपत्र छाप्नका लागि सरकारी स्वामित्वको जनक शिक्षा सामग्रीलाई छनोट गरिसकेको छ । सरकारलाई सुरक्षाको व्यवस्थापन गर्न आग्रह गरिसकेको आयोगले ७ सय ४४ वटा स्थानीय तहमा कर्मचारी पठाउन समेत आयोगले सरकारलाई निर्देशन दिएको छ ।
आयोगले ७ सय ४४ स्थानीय तहमा चैत ३ गतेभित्र पुग्ने गरी कर्मचारी खटाउन सरकारलाई निर्देशन दिएको हो । आयोगले आपसी समन्वय गरी कर्मचारीको खटनपटनको व्यवस्था मिलाउन सामान्य प्रशासन र स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो । आयोगले स्थानीय तहको निर्वाचन अवधिभर निर्वाचन कार्यमा हुने कर्मचारी खटनपटनमा असर पर्ने गरी कुनै पनि तालिममा कर्मचारी नखटाउन पनि निर्देशन दिएको छ ।
आयोगले आगामी निर्वाचनमा १ करोड ४० लाख मतदाता सहभागी हुने आँकलन गरेको छ । यस्तै, सुरक्षाकर्मीबाहेक १ लाख २६ हजार कर्मचारी आवश्यक पर्ने अनुमान आयोगको छ । आयोगले १० हजार १३ मतदान केन्द्र रहने, २१ हजार मतदान स्थल रहने, २१ हजार नै मतदाता शिक्षा स्वयंसेवी रहने तथा ८४ हजार मतपेटिका र करिब १ करोड ५४ लाख मतपत्र आवश्यक पर्ने अनुमानसमेत गरेको छ ।
सरकारले भने निर्वाचनका लागि नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेना तथा म्यादी प्रहरी गरेर २ लाख ७४ हजार सुरक्षाकर्मी परिचालन गरिने निर्णय गर्दै गृह मन्त्रालयले त्यसको तयारीसमेत अगाडि बढाइरहेको छ ।
यस्तै, सरकारले निर्वाचनका लागि करिब १० अर्ब २६ करोड निर्वाचन आयोगलाई छुट्ट्याउने निर्णयसमेत गरिसकेको छ । निर्वाचन आयोगले सबै तयारी तीव्र गतिमा भइरहेको भन्दै राजनीतिक रूपमा सहमति भएमा ३१ वैशाखमा जुनसुकै हिसाबले पनि निर्वाचन सम्पन्न हुने जनाएको छ । ‘तयारीका हिसाबले आयोगले युद्धस्तरमा आफ्नो काम गरिरहेको छ । सरकारका तर्फबाट पनि आवश्यक सहयोग भइरहेको छ,’ एक आयुक्तले राजधानीसँग भने, ‘अब दलहरूबच राजनीतिक सहमति मात्र हुनुप¥यो, ३१ वैशाखमा जसरी पनि निर्वाचन भएरै छाड्छ ।’
प्रकाशित मिति: ३० फाल्गुन २०७३, सोमबार ०७:११